आईजीपी कार्कीद्वारा कानून अनुरूप शान्ति सुव्यवस्था कायम राख्न र कानूनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालको संविधान, प्रहरी ऐन तथा प्रचलित कानून अनुरूप शान्ति सुव्यवस्था कायम राख्ने, कानूनको प्रभावकारी कार्यान्वयन गर्न मातहतलाई निर्देशन दिएका छन् ।
आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्नुपर्ने बताए । उनले जनउत्तरदायी एवम् व्यावसायिक प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको बताएका छन् ।
संघीय शासन प्रणालीको कार्यान्वयनसँगै नेपाल प्रहरीको भूमिका, दायित्व र कार्यक्षेत्र बहुआयामिक बन्दै गएको तथा यस्तो परिवर्तित समय सन्दर्भमा संगठनात्मक क्षमता, रणनीतिक सोच, प्रविधिको प्रयोग र अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउनु अहिलेको आवश्यकता र प्राथमिकता रहेको आईजीपी कार्कीले बताएका छन् ।
प्रहरी महानिरीक्षक कार्कीले प्रविधिको तीव्र विकास, डिजिटल सुरक्षा जोखिम, जलवायु परिवर्तन जन्य विपद तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरूले प्रहरी सेवाको नीति र कार्यशैलीमा नवीन, व्यवहारिक र उत्तरदायी दृष्टिकोण अपनाउनु पर्ने आवश्यकता देखिएको बताए ।
आईजीपी कार्कीले त्यसका लागि प्रहरीले हेर्ने दृष्टिकोण मात्र पर्याप्त नभई विषय विज्ञ, आम जनसमुदायहरूको परामर्श र दृष्टिकोण समेत आवश्यक रहेकोले यो सम्मेलनको आयोजना गरिएको बताएका छन् ।
सम्मेलनको अवधिमा हुने बहुआयामिक छलफल, अनुभवको आदानप्रदान, बौद्धिक तथा तार्किक बहस, विचार, विमर्श तथा राय सुझावले नेपाल प्रहरीको दीर्घकालीन योजना, रणनीतिक लक्ष्य र समय सापेक्ष कार्ययोजना निर्माणमा मूर्त आधार तयार गरी नेपाल प्रहरीको रणनीतिक योजना र कार्ययोजनाहरू निर्माणमा स्पष्ट मार्गदर्शन गर्ने उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया