कांग्रेसका उम्मेदवार विजयी गराउन प्रेस युनियनले नैतिक समर्थन जनाउनुपर्छ : अध्यक्ष लम्साल
धनगढी । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धनगढीमा रणनीतिक अभियान सञ्चालन गरेको छ ।
नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यले युनियनले निर्वाह गर्नुपर्ने भूमिका, गतिविधि र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गर्न उक्त अभियान आयोजना गरिएको हो ।
आइतबार धनगढीमा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । कार्यक्रममा प्रदेश तथा जिल्लाका युनियनका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अध्यक्ष लम्सालले लोकतन्त्र सुदृढीकरणमा प्रेस युनियनको भूमिका अझ जिम्मेवार र सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए । उनले प्रतिनिधिसभा निर्वाचन मुलुकको राजनीतिक भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सचेत, तथ्यपरक र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताए ।
लम्सालले भने, ‘निर्वाचनको समयमा गलत सूचना, अफवाह र भ्रम फैलाउने प्रयासहरू हुन सक्छन्, यस्ता गतिविधिको प्रतिरोध गर्दै सत्य र तथ्य जनतासम्म पु¥याउनु प्रेस युनियनको मुख्य दायित्व हो ।’
अध्यक्ष लम्सालले कांग्रेसका उम्मेदवारलाई विजयी गराउन प्रेस युनियनले वैचारिक र नैतिक समर्थन जनाउनुपर्ने बताएका छन् । युनियनका सदस्यहरूले आफ्नो पेशागत मर्यादा कायम राख्दै लोकतन्त्र र संविधानको पक्षमा जनमत निर्माण गर्न योगदान पु¥याउनुपर्ने उनले बताए ।
नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष मनमोहन स्वाँरले सुदूरपश्चिम प्रदेशमा आगामी निर्वाचनलाई लक्षित गरी युनियनले चरणबद्ध अभियान सञ्चालन गर्ने बताए । उनले पत्रकारहरू समाजका दर्पण भएकाले उनीहरूको कलम र आवाजले जनमत निर्माणमा ठूलो प्रभाव पार्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया