लुम्बिनीमा वैशाख १६ र १७ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने
भैरहवा । लुम्बिनीमा वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ ।
बिहीबार बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचारप्रसारलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित सम्मेलन आयोजना गर्ने निर्णय गरेको कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि मूल आयोजक समारोह समिति गठन गरेको छ ।
समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा रहने गरी १० सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरिएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि सम्मेलन आयोजनामा ३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यसअघि देशमा भएको राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण नोभेम्बरमा आयोजना गर्ने भनिएको सम्मेलन २५७०औं बुद्ध जयन्तीको अवसर पारेर आगामी १६ र १७ वैशाखमा लुम्बिनीमा गर्ने तयारी गरिएको छ ।
बुद्ध धर्म र दर्शनमार्फत विश्व शान्ति प्रवर्द्धन गर्दै दया, करुणा र विश्व बन्धुत्वको भावना फैलाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको मूल समारोह समितिका संयोजक डा. लामाले जानकारी दिएका छन् ।
सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका बौद्ध विद्वान, गुरु, विशिष्ट पाहुना तथा विभिन्न क्षेत्रका महत्त्वपूर्ण व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
दुई दिने हुने सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु तथा बुद्धसँग सम्बन्धित क्षेत्रहरूको सम्पदा, लुम्बिनी क्षेत्रको पर्यावरणीय अवस्था, विश्व बौद्ध सम्पदा, बौद्ध शिक्षा तथा संस्कृतिका विषयमा छलफल र कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।
यसअघि भएका आयोजना भएका पहिलो र दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको लुम्बिनी विकास कोषले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया