हुम्लाको गाउँपालिकाका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले आरोपीहरुविरुद्ध विशेष अदालत, काठमाडौंमा गैरकानूनी लाभ वा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
आयोगले ढकालका साथै स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङक, सह–लेखापाल विर्षसिंह सुनार र आर्यान फार्मा नेपालगञ्जका सञ्चालक कृष्णकुमार भजुवालाई पनि प्रतिवादी बनाएको छ ।
उनीहरूले आपसी मिलेमतोमा खरिद नै नगरेको औषधि तथा उपकरणहरू खरिद गरेको भन्दै रकम हिनामिना गरेको पाइएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
उनका अनुसार आयोगले उनीहरूविरुद्ध १ लाख ९१ हजार ८५० रुपियाँ बिगो कायम गरेर कैद र बिगो बमोजिमको जरिवानाको मागदाबी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया