केही शक्ति निर्वाचनको फाइदा उठाएर व्यवस्था परिवर्तन गर्न लागे : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा सकारात्मक परिणाम ल्याउनु आवश्यक रहेको बताएका छन् ।

आइतबार हेटौँडामा बागमती प्रदेशसभाको आठौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मुलुक निर्वाचनमा होमिसकेकाले यही निर्वाचनबाट गणतन्त्रवादीको पक्षमा सकारात्मक परिणाम ल्याउने गरी जुट्न गणन्त्रणवादी शक्तिलाई आग्रह गरेका छन् ।

उनले ठूलो सङ्घर्षबाट प्राप्त भएको समावेशी गणतन्त्रात्मक व्यस्थामाथि खतरा बढेको बताए । बानियाँले केही शक्ति यही निर्वाचनको फाइदा उठाएर व्यवस्था नै परिवर्तन गर्न लागिपरेकाले गणतन्त्रवादी शक्ति एकठाउँमा आउनु आवश्यक रहेको बताए ।

विभिन्न राजनीतिक उतार चढावका कारण लामो समयदेखि प्रदेशसभाको बैठक बस्न नसकेको उनले बताए । मुख्यमन्त्री बानियाँले बागमती प्रदेशसभाको रिक्त सभामुख चयन प्रक्रियालाई छिट्टै राजनीतिक सहमतिका आधारमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले आफ्नो नेतृत्वमा सरकार गठन भएको महिनादिन नबित्दै मुलुकमा भएको जेनजी आन्दोलनका कारण सरकारको काम कारबाही अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको बताए । मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले गरिबमुखी, आयमुखी, जनमुखी काम गर्ने सङ्कल्प लिएर अघि बढे पनि जेनजी आन्दोलनका कारण सङ्कल्पअनुसार काम गर्न नसकिएको बताए ।

प्रदेशसभाबाट पारित भएका ऐन कानुनअनुसार सेवासुविधा उपलब्ध गराउन निजामती कर्मचारीले आलटाल गरिरहेको गुनासो गर्दै उनले सङ्घीय सरकारले पठाएका कर्मचारीले प्रदेश सरकारलाई नटेर्ने परिपाटी देखिएको बताए ।

Published : Sunday, 2026 February 1, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया