राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ करोड ३१ लाख घोटाला गर्ने संगीतासहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा.संगीतासिंह भण्डारीसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले विशेष अदालत, काठमाडौंमा प्रा.डा.भण्डारीसहितका १९ जनाविरुद्ध अभियोगपत्र दायर गरेकोे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानका लागि सीटी स्क्यान मशिन खरिद गर्दा गुणस्तरहीन तथा सर्त एवं मापदण्डविपरीत आपूर्ति गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले हिमालयन मेडिटेक प्रालिलाई पनि प्रतिवादी बनाएको छ ।

प्रतिष्ठानका लागि सीटी स्क्यान मशिन खरिद गर्दा उनीहरूले ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपियाँको गैरकानूनी लाभ वा हानि पु¥याई भ्रष्टाचार गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले प्रा.डा.भण्डारीसहित प्रतिष्ठानका तत्कालीन कामु रजिस्ट्रार तथा डेपुटी फाइनान्स म्यानेजर कैलाशप्रसाद देव र तत्कालीन निर्देशक डा.सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा.बोम बिसी, बायोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आशुतोष भण्डारीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका तत्कालीन शाखा अधिकृत झन्कार लामिछाने, लिलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, तत्कालीन लेक्चरर डा.श्रीसिया पोखरेल, आईटी अफिसर हीरालाल भण्डारीलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।

प्रतिष्ठानका तत्कालीन लेखा अधिकृत राजीव बस्नेत, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाही, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी र स्टाफ नर्स विन्दु पौडेललाई प्रतिवादी कायम गरिएको छ ।

हिमालयन मेडिटेक प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अमर श्रेष्ठ र सञ्जु राजकर्णिकारलाई पनि प्रतिवादी कायम गरिएको छ ।

तत्कालीन उपकुलपति प्रा.डा. भण्डारीविरुद्ध आयोगले यसअघि पनि दायर गरेको एउटा भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

Published : Thursday, 2026 January 29, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया