मतदाताको भावना र चाहना अनुसार सबै निर्वाचन क्षेत्रमा आफ्नै पार्टी कांग्रेसका उम्मेदवार छन् : नेता पाण्डे

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डले गठबन्धनको चुनावी संस्कृति नेपाली कांग्रेसको राजनीतिक स्वभावसँग कहिल्यै सर्वस्वीकार्य नरहेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत पाण्डेले भने, `२०१५ सालको प्रथम निर्वाचनदेखि नै रुख चिन्हमा मतदान गर्न गौरवान्वित हुँदै आएका नेपाली कांग्रेस समर्थक लोकतन्त्रको पक्षपाती मतदाता रुख छोडेर अन्य चिन्हमा मत हाल्नु आफ्नो राजनीतिक पवित्रता खोसिएको पीडादायी अनुभूतिले दुःखित थिए ।´

उनले भने, `आगामी फागुन २१ को निर्वाचनमा आम लोकतन्त्रप्रेमी मतदाताको भावना र चाहना अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नै पार्टी नेपाली कांग्रेसका उम्मेदवार मैदानमा छन् ।´

`६,७४३ वटै वडा र देशभरका सबै मतदान केन्द्रमा मतदानको निम्ति लामबद्ध हुने समस्त आदरणीय मतदाताले यसपटक मतपत्रमा आफ्नो प्यारो, परिचित र गौरवशाली ‘रुख’ भेट्नुहुनेछ । यो केवल एउटा चुनावी चिन्ह होइन, यो इतिहास हो, यो संघर्ष हो, यो लोकतन्त्रको प्रतीक हो र यो लोकतन्त्रप्रेमीहरुको आत्मा हो,´ नेता पाण्डेले भने

`यस सर्वप्रिय रुख चिन्हमा मतदान गरेर पार्टीको पक्षमा उत्साहजनक जनादेश सुनिश्चित गरौँ । आजको यो दृढ समर्थनले भोलि पनि नेपाली कांग्रेसले एक्लै निर्वाचन लड्न सक्ने दह्रिलो विश्वास संस्थागत गर्नेछ,´ उनले भने ।

Published : Thursday, 2026 January 22, 10:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया