सबै घर फर्कौं, कांग्रेसमा फर्कौं, जीतहार कसैको छैन : डा.शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एकतावद्ध राख्ने भएको भागिरथ प्रयास सफल हुन नसकेको बताएका छन् ।
बिहीबार नेता डा.कोइरालाले प्रेस विज्ञप्ति जारी गरेर भने, ‘यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न । हामी सबै कही न कही चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन ।’
‘यसवीचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका वारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहाँसमा सुम्पन्छु,’ नेता डा.कोइरालाले भने ।
‘दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसवीच गुज्रियौँ,’ उनले भने, ‘राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।’
नेता डा.कोइरालाले भने, ‘कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको ईमान्दार प्रयास थियो । तर, त्यसो हुन सकेन । यस कठिन घडीमा हामीले स्मरण गर्नुपर्ने हाम्रा महामानव श्रद्धेय नेता वीपी कोइरालालाई हो ।’
उनले भने, ‘वीपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरू पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भै संघर्षरत रहे । तर, केही व्यक्ति र समूह वीपीलाई छाडेर गए । उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो ।’
‘वीपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो । म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्छु,’ उनले भने ।
‘अब हाम्रा सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहाँसको गौरवलाई जोगाउने जिम्मेवारी छ,’ उनले भने, ‘यस कठिन घडीमा कांग्रेसको संगठनात्मक उर्जा प्रस्फुटन भएर मात्र हामी इतिहाँसले र हाम्रा अग्रज नेताहरुले दिएको जिम्मेवारी पुरा गर्न सक्छौँ ।’
नेता डा.कोइरालाले भने, ‘यसको लागि सम्पूर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको छ । तसर्थ, साथीहरू कांग्रेस पार्टी आम कार्यकर्ता साथीहरूले निर्माण गरेको पार्टी हो, हाम्रा साझा इतिहाँस छन, साझा नेता र शहीदहरू छन । हामी यिनैको प्रेरणाबाट नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ ।’
‘हामी यही पार्टीमा बसेर नेपालको भविष्य निर्माण गर्नुपरेको छ । हाम्रा अग्रज नेताहरु र शहिद हुनुभएका साथीहरू हाम्रा प्रेरणाका स्रोत हुन,’ उनले भने ।
‘नेपाली जनताले गरेको भरोसा र विश्वासलाई आम मतदाताले विगतमा पार्टी विभाजनको कारण प्रभावित हुन दिएका थिएनन्,’ नेता डा.कोइरालाले भने, ‘आज एकपटक फेरि तपाई हामी हाम्रा सबै अग्रज नेताहरूको मार्ग दर्शनबाट र शहीदहरूको बलिदानलाई सम्झेर नेपाली जनताको समृद्धिको यात्रामा जनताको घर दैलोमा भोट माग्न जानु परेको छ ।’
उनले भने, ‘समय छोटो छ । तर, पनि यथासम्भव तपाईहरुको घर आंगनमा कांग्रेसको चुनावी अभियानमा म आउने कोशिस गर्दछु ।’
‘पार्टीभित्र गर्नुपर्ने सुधारका प्रकृया रोकिने छैनन् । म आह्वान गर्छु हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ । जय नेपाल,’ डा.कोइरालाले भने ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया