तामाको तार बेचेर खाएको आरोपमा हाकिमसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध तामाको तार बेचेर खाएको आरोपमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
मंगलबार अख्तियारले केन्द्रका तत्कालीन प्रमुख राजीवकुमार सिंह, तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्लेसँगै कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि काठमाडौंका सेक्युरिटी गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिमालविरुद्ध मंगलबार विशेष अदालतमा जनही १३ लाख ९३ हजार ६ सय तीन रुपियाँ तीन पैसा बिगो र कैद सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो ।
उनीहरूले ९०० मिटर तामाको तार बेचेर खाएको उजुरी परेपछि आयोगले छानबिन गरेको थियो । आयोगको छानबिनमा पनि उनीहरू दोषी देखिएपछि मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
पोखरा वितरण केन्द्र कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट विभिन्न परिमाणमा ७० एमएमका १७४ मिटर र १२० एमएमका ७४६ मिटर पिभिसी तार हराएको भनी केन्द्रका स्टोर प्रमुखले ५ वैशाख ०८० मा कार्यालय प्रमुख समक्ष निवेदन दिएको, निवेदनपछि १० वैशाख ०८० मा छानबिन कमिटी गठन गरिएको थियो ।
केन्द्रको स्टोर फाँटमा रहेको रेकर्डअनुसार स्टोर फाँटबाट हराएको भनिएको तार ३० असोज ०७७ मा ट्रान्सफर भई जिन्सी आम्दानी बाँधिएको, हिनामिना भएको ७० एमएमकोे तार १७४ मिटर र १२० एमएमको तार ७४६ मिटर मौज्दात बाँकी रहँदा हराएको जानकारी स्टोरबाट प्राप्त भएको देखिएको थियो ।
आर्थिक वर्ष ०८०÷०८१ को जिन्सी निरीक्षण प्रतिवेदनमा सामान नभेटिएको भनी उल्लेख गरिएको, छानबिन कमिटीले पेश गरेको प्रतिवेदनमा २१ फागुन ०७९ मा गेटपास नम्बर २९४ बाट २८ मिटर तार खर्च काटी ठेकेदारले लगेको तर पछि उक्त परिमाणको तार मौखिक निर्देशनको आधारमा स्टोर फिर्ता गरिएको, उक्त स्टोर फिर्ता परिमाणको तार पनि नभेटिएको, हराएको तारहरूको परिमाण धेरै भएको हुँदा कम्पाउण्ड बाहिर लैजान मेशिन उपकरणहरुको प्रयोग भएको हुनुपर्ने अवस्था रहेकोले योजनाबद्ध तवरबाट काम भएको छानबिनबाट देखिएको थियो ।
७० एमएको तारको मूल्य दुई लाख ६७१ रुपियाँ २५ पैसा र १२० एमएमको तारको मूल्य ११ लाख ९२ हजार ९३१ रुपियाँ ७८ पैसा गरी कुल १३ लाख ९३ हजार ६०३ रुपियाँ परिमाणको तारहरू हराएको भन्नेसमेत व्यहोराको प्रतिवेदन देखिएपछि छानबिन कमिटीले बिगो असुलउपर गर्न सिफारिस गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया