ओली–देउवाको कुरा छोडौं, पछिल्लो पुस्तालाई सबैभन्दा बढी घात गर्ने गगन हुन् : नेता खत्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजिव खत्रीले नेपाली कांग्रेसको शक्तिशाली महामन्त्री पदमा रहेर पनि गगन थापाले कुनै काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत रास्वपाका नेता खत्रीले महामन्त्री थापाले पछिल्लो पुस्तालाई सबैभन्दा ठूलो घात गरेको बताएका छन् । उनले गगन थापालाई शेरबहादुर देउवा र केपी ओलीभन्दा पनि घातक भनेका छन् ।

रास्वपाका नेता खत्रीले लेखेका छन्, ‘कांग्रेसमा गगनहरूको विद्रोहलाई– वाह गगन भन्न मन थियो । तर, जो शक्तिशाली महामन्त्री पदमा आफै थिए, के भयो ? पार्टीको कार्यकारी भूमिकामा केही गर्न नसकेको सबैले देखेकै हो । अब पनि केही हुँदैन ।’

‘ओली–देउवाको कुरा छोडौं, यो पछिल्लो पुस्तालाई सवैभन्दा बढी घात गर्ने नेता गगन थापा पनि हुन्,’ रास्वपाका नेता खत्रीले भने ।

‘नेपालको वास्तविक अवस्था निराशा थियो तर यिनले आशाका कुरा गरिरहे । ओलीपछि सबैभन्दा बढी यिनले सपनाको व्यापार गरे,’ उनले भने, ‘निराशालाई स्वीकार गरेनन् । निराशाका बीच आशा देखाउने ढोंगी बनिरहे । पाखण्डी भएर बोलिरहे ।’

‘आशावादी हुनु राम्रो थियो तर, वास्तविकता बाहिरको आशावादले भ्रममा बाँच्न मात्र सिकायो,’ उनले भने, ‘वास्तविकताभन्दा भिन्न आशाले युवालाई मानसिक रुपमा आघात मात्र पुर्‍यायो ।’

‘यथार्थभन्दा बाहिरको आशा देखाएर समाजमा ‘बिष’ छरिरहे । त्यसैले भ्रम टुटेपछिको विस्फोट थियो– भदौ २३ र २४ । त्यो बिषको बम थियो,’ रास्वपाका नेता खत्रीले भने ।

‘पछिल्लो केहि वर्षदेखि गगनलाई कसैले आश गरिएका नेता भनेर लेखेको देख्ने बितिक्कै मनमा अनेक कुरा खेल्थे,’ प्रश्न गर्दै उनले भने, ‘के आश गरेका होलान् ? कहिलेदेखि आशावादी हुने रहर जाग्यो होला ? यिनका आशाका अन्त्य कहिले हुन्छ होला ? अन्त्य भएपछि फेरि आश गर्छन् कि गर्दैनन होला ?’

‘अन्ततः गगनको आशा सकिएको छ । गगनको सपनाको भारीले उनैलाई थिच्यो ! गगनहरूको कुकर्मले उनीहरूलाई मात्र थिचेन, देशले ठूलो क्षति वेहो¥यो ! त्यसैले गगनलाई ईतिहाँसले माफी दिनेछैन,’ खत्रीले भने ।

Published : Monday, 2026 January 12, 10:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया