पाँच वर्ष देखियो, गगनजीहरूले अझै राम्रो कांग्रेस बनाउँछौँ भन्ने कुरा चाहिँ ब्लफ हुन्छ : सुनिल शर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान सांसद सुनिल शर्माले महामन्त्री गगन थापासहितका युवा नेताहरूलाई नेतृत्वमा पठाउँदा समेत कांग्रेसमा कुनै सुधार नभएको बताएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता शर्माले सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्का बाहेक कार्यसमितिमा सबै युवा नेताहरू रहेको बताए । उनले गगन थापाबाट कांग्रेस पार्टी नचल्ने र पाँच वर्ष महामन्त्रीको कार्यसम्पादन सबैले देखेको बताए ।
गगन थापा सभापतिको उम्मेदवार बन्न लागेको विषयमा सोधिएको प्रश्नको जवाफमा नेता शर्माले भने, ‘गगन थापा त महामन्त्री मान्छे । माथि जाने जेनजी नै भए नि उहाँ त ।’
‘उहाँ (गगन थापा)ले त पार्टी चलाएको होइन ?,’ प्रश्न गर्दै शर्माले भने, ‘गगनजीहरूले त पार्टी चलाइसकेको हो त । उहाँहरूले चलाएको पार्टी हामीले हेरिसक्यौँ । अब हामीले चलाएको पार्टी जनताले हेर्नुपर्यो ।’
‘महामन्त्री भनेकै ईनअफ पद हो । महामन्त्रीसँग यति धेरै एक्जुकेटिभ पावर हुन्छ की धेरै काम गर्न सकिन्छ,’ नेता शर्माले भने, ‘उहाँ (गगन)लाई अझै माथि जाने ठाउँ छ । यद्यपि, गगनजीहरूले अझै राम्रो कांग्रेस बनाउँछौँ भन्ने कुरा चाहिँ अलिक धेरै ब्लफ हुन्छ ।’
कांग्रेस नेता शर्माले भने, ‘शेरबहादुर दाई र पूर्णबहादुर दाई बाहेक जम्मै युवा पठाएको छैन हामीले ? त्यहाँ बद्रीजी हुनुहुन्छ । धनराजजी हुनुहुन्छ । गगनजी हुनुहुन्छ । विश्वजी हुनुहुन्छ । सबैको नाम लिन सकिएन । किशोरसिंह राठौर हुनुहुन्छ । यो पाँच वर्ष कस्तो कांग्रेस बनाउनुभयो ? हामीले सोध्न पाउनु पर्यो की परेन ? नागरिकले सोध्न पाउनु पर्यो की परेन ?’
‘त्यस कारण धेरै आश गर्ने ठाउँ छैन । यद्यपि, उहाँहरू सुध्रिनु होला । राम्रो गर्नु होला । आफू व्यक्ति केन्द्रित पोलिटिक्स नगर्नु होला । समूह केन्द्रित, देश केन्द्रित, नागरिक केन्द्रित राजनीति उहाँहरूले गर्नुहोला भन्ने ठाउँ अझै बाँकी छ,’ कांग्रेस नेता शर्माले भनेका छन् ।
नेता शर्माले महामन्त्री गगन थापाको आलोचना गर्दै महामन्त्री पदमा रहेर कांग्रेसका लागि कुनै स्मरण योग्य काम गर्न नसकेको बताए । उनले गगन थापाको हैसियत र औकात कांग्रेसका सबै कार्यकर्ताले थाहा पाइसकेको बताएका छन् ।
नेता शर्माले अब आफू महामन्त्री पदमा उम्मेदवार बन्ने बताएका छन् । उनले नेता डा.शेखर कोइरालाको टिमबाट सहमहामन्त्रीमा उम्मेदवार बन्न पाउनुपर्ने माग राख्दै यदि त्यो सम्भावना नरहे चन्द्र भण्डारी जस्ता नेताहरूलाई सभापतिको उम्मेदवार बनाएर आफू महामन्त्री पदमा उम्मेदवार बन्ने बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया