रविसँग न्यायाधीश बिक्रीको आरोप, दुई न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी दर्ता
काठमाडौं । अधिवक्ता युवराज पौडेल ‘सफल’ले सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिने उच्च अदालत, तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेललाई तत्काल न्यायाधीश पदबाट निलम्बन गर्न माग गरेका छन् ।
शुक्रबार अधिवक्ता पौडेलले न्याय परिषदको सचिवालय, रामशाहपथ, काठमाडौंमा निवेदन दिँदै न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेललाई बर्खास्त गरेर हदैसम्मको कारबाही माग गरेका हुन् । बासुदेव आचार्य उच्च अदालत, तुलसीपुरका मुख्यन्यायाधीश पनि हुन् ।
अधिवक्ता पौडेलले भनेका छन्, ‘रवि लामिछानेलाई जमानतमा थुनामुक्त गर्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलविरुद्ध न्याय परिषदमा उजुरी दर्ता गरेको छु । उजुरी दर्ता नम्बर ४१६ रहेको छ ।’
‘बेञ्च सपिङ्ग गरेर/आर्थिक प्रलोभनमा परेर/सेटिङ गरेर रवि लामिछानेलाई सर्वोच्च अदालतको पछिल्लो आदेश प्रतिकूल हुने गरी थुनामुक्त गरेकोले यस्ता फैसला गर्ने न्यायाधीशलाई तत्काल निलम्बन गर्न माग गरेको छु,’ अधिवक्ता पौडेलले भनेका छन्, ‘हदैसम्मको कारबाही गर्न र यसअघि जिल्ला अदालत, रुपन्देहीबाट भएको आदेश रवि लामिछानेलाई जेल पठाउन पर्ने उच्च अदालतको आदेश, रवि लामिछानेलाई जमानत बुझाएर छोड्न नमिल्ने जिल्ला अदालतको आदेश साथै रवि लामिछानेलाई कैदमै पठाउने गरी आएको सर्वोच्च अदालतको आदेश र पौष ३ गते रवि लामिछानेलाई जमानतमा छोड्ने लगायतका आदेश साथै रवि लामिछानेसँग सम्बन्धित सम्पूर्ण मुद्दाका मिसिल समेत झिकाएर अनुसन्धान गर्न माग गरेको छु ।’
‘पटक पटक परेको पेशीलाई स्थगित गराई रहनुले रवि लामिछानेले आफू निस्कन अनुकूल न्यायाधीशको सेटिङ गराएको र सोही न्यायाधीशकोमा परेको बखत मात्र सुनुवाई गराउने, यदि सो बेञ्च वा न्यायाधीशकोमा नपरेको खण्डमा भने सुनुवाई नगराई पेशी स्थगित गर्ने गरेका थिए । बाहिर सुनिएअनुसार प्रतिवादी रवि लामिछानेले सो निवेदन दर्ता गराउन र आफू अनुकूल आदेश गराउनको लागि लाखौं रुपियाँ खर्च गरेको समेत चर्चा छ,’ उजुरी निवेदनमा अधिवक्ता पौडेलले भनेका छन् ।
‘सोही योजना मुताबिक साउन १९ गतेका दिन पेश गरेको निवेदन तीन दिनसम्म गुपचुप राखी साउन २२ गते मात्र दर्ता गरिएको थियो । हरेक पटक परेका पेशीहरू प्राय रवि लामिछानेकै कानून व्यवसायीले हटाउने गरेका थिए । मिति २०८२ पौष ०३ गतेका दिन उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले गरेको आदेश उल्टाई रवि लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपियाँ बिगो बापतको रकम तिराएर प्रतिवादी रवि लामिछानेलाई थुनामुक्त गर्न भन्ने आदेश दिएको रहेछ । रवि लामिछानेले सो रिट उच्च अदालतमा दर्ता गराउँदादेखि न्यायाधीश समेतमा सेटिङ गरेका रहेछन् । निजले बेञ्च सपिङ (बेञ्च खरिद) गरेको र सोही बेञ्च परेपछि मात्रै सुनुवाई अगाडि बढाएको देखिन्छ,’ उजुरीमा पौडेलले भनेका छन् ।
सहकारी ठगी र संगठित अपराधको मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका लामिछाने छुटेकै दिन अधिवक्ता पौडेलले न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलविरुद्ध न्यायापरिषदमा कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया