पूर्व सभामुख महरा २० लाख धरौटीमा रिहा

काठमाडौं । उच्च अदालत, पाटनले पूर्व सभामुख कृष्णबहादुर महरालाई २० लाख रुपियाँ धरौटीमा छाड्न आदेश गरेसँग धरौटी बुझाएर रिहा भएका छन् ।

बिहीबार महरालाई उच्च अदालत, पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेशपछि जिल्ला अदालत, काठमाडौंमा धरौटी बुझाएर महरा छुटेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई पुनः पक्राउ गरेर मुद्दा चलाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेपमार्फत सुन तस्करी गरेको कसूरमा पुर्पक्षका लागि थुना गएका थिए ।

उच्च अदालत, पाटनका न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

‘तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिएको अवस्थामा तहाँ अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ,’ आदेशमा भनिएको छ ।

महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक अरूण पोखरेललाई फोन गरेको, बयान, महराका छोराले गरेको बयान, अरूण पोखरेलले गरेको कागज समेतका आधारमा महरालाई अहिले नै कसूरदार होइन भन्न नमिल्ने उल्लेख गरेको थियो ।

२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले लगेजमा ठूलो संख्यामा भेप ल्याएका थिए । त्यसमा ९ किलो सुन थियो । त्यो सुन विमानस्थलकै भन्सारबाट चोरी भएपछि मात्र सुन तस्करीबारे खुलेको थियो ।

Published : Thursday, 2025 November 27, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया