सहमतिको प्रयास भइरहेका बेला कांग्रेस विभाजन गर्ने धम्कीसहित जारी भयो बतासे विज्ञप्ति

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट भन्दै बतासे प्रेस विज्ञप्ति जारी भएको छ ।

कांग्रेसलाई एकताबद्ध बनाएर राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनमा लैजाने तयारी तथा सहमतिको प्रयास भइरहेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बतासे प्रेस विज्ञप्ति जारी गर्न लगाएर बखेडा झिकेका छन् । प्रेस विज्ञप्तिमा कुनै पनि नेताको नाम उल्लेख छैन । छाप पनि छैन । यस्तो बतासे प्रेस विज्ञप्तिले कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने भन्दा पनि सहमतिको प्रयासलाई बिथोलेर कांग्रेसलाई बिभाजनको बाटोतर्फ लैजान खोजेको भन्दै आलोचना भइरहेको छ ।

‘नेपाली कांग्रेसको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्योल र निर्णयहिनताले पार्टी आज गम्भीर संकटको मोडमा उभिएको छ,’ बतासे प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थाको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्छ ।’

कांग्रेस गम्भीर मोडमा रहेको भन्दै बतासे विज्ञप्तिमा पार्टी विभाजनको घुमाउरो भाषामा धम्की दिइएको छ ।

‘हामीले चुनावअधिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका है । कुनै पनि बाहना वा अविस्वश्नीय नियमित महाधिवेसनको तालिकामा विशेष महाधिवेसनको माग निष्क्रिय हुन सक्दैन,’ हस्ताक्षर नरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने भएमा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ। अन्यथा, पार्टी विधानले दिएको वैधानिक अधिकार–विशेष महाधिवेशन–कसैले पनि रोक्न वा अतिक्रमण गर्न पाउँदैन,’ विज्ञप्तिमा भनिएको छ ।

कसैको हस्ताक्षर, नाम र छाप समेत नरहेको बतासे प्रेस विज्ञप्तिको भाषा र शैलीले कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने भन्दा पनि पार्टी विभाजन हुने खालका धम्कीहरू दिइएका छन् ।

Published : Thursday, 2025 November 27, 2:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया