हिंसा भड्काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य रोकौं, अभिव्यक्तिमा बन्देज लगाउन पाइँदैन : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले विद्यमान शान्ति–सुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
शनिबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरू सार्वजनिक गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस्तो संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड्काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य कदापि वाञ्छनीय हुन सक्दैन ।’
‘त्यस्तै, लोकतान्त्रिक व्यवस्था र विधिको शासनमा लहड वा आवेगमा कसैलाई निषेध गर्नु, शान्तिपूर्ण प्रदर्शन तथा विचार अभिव्यक्तिमा बन्देज लगाउने प्रयास गर्नु स्वाभाविक वा स्वीकार्य मान्न सकिँदैन,’ कांग्रेसले भनेको छ ।
‘यस्तो कार्य संविधानको आधारभूत मूल्य मान्यता विपरीत छ । यसले समाजमा थप ध्रुवीकरण र हिंसा निम्त्याउने सम्भावना बढाउँछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘अतः अहिले उत्तेजना होइन, संयम, निषेध होइन, संवाद, अविश्वास होइन, विश्वास र समझदारी आवश्यक भएकोले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवाद मार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई नेपाली कांग्रेस आव्हान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘नेपाली कांग्रेस तथा विभिन्न राजनीतिक दलहरूको आव्हानमा जनताले धैर्य, संघर्ष र त्यागका माध्यमबाट स्थापित गरेको संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास हाम्रो साझा जिम्मेवारी हो,’ कांग्रेसले भनेको छ ।
‘यसका लागि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्वद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया