भालुबाङ प्रहरीद्वारा अबैध चिनी र मिनी ट्रक नियन्त्रण

भालुबाङ । इलाका प्रहरी कार्यालय, भालुबाङ, दाङले अबैध रुपमा भन्सार छलि गरेर ल्याएको चिनी र मिनी ट्रकलाई नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ, पुल्चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्ग सडकखण्डमा प्रहरी टोलीले चिनी र मिनी ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, दाङबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कपिलवस्तुदेखि प्यूठानतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ००५८ नम्बरको मिनी ट्रकका चालक कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.१ बस्ने वर्ष ३५ को शिवकुमार थारुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिनी ट्रक चेकजाँच गर्ने क्रममा अबैध भन्सार छली गरी ल्याएको चिनी २८ बोरा चिनी (प्रतिबोरा ५० के.जी. र प्रतिके.जी. अन्दाजी मूल्य रु.१०० का दरले अन्दाजी मूल्य रु.१,४०,०००) बराबरको चिनी र मिनी ट्रकको अन्दाजी मूल्य रु.२५ लाख गरी जम्मा अन्दाजी मूल्य रु.२६ लाख ४० हजार) तथा चालक थारुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय, कृष्णनगर, कपिलवस्तुमा बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2025 November 10, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया