अधिकृत पोखरेलसहित आठ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठजना र एक निर्माण कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोमबार विशेष अदालत काठमाडौंमा आयोगले उनीहरूले ५५ लाख ८९ हजार ६३ हजार रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हीराचन्द्र धराला, शिक्षा अधिकृत भीमबहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआईएस अपरेटर हरिचन्द्र विष्ट छन् ।

त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिको खरिद प्रक्रिया मूल्यांकनमा संलग्न बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिरकुमार गुरुङ, दीव्या निर्माण सेवा प्रा.लि दुनै, डोल्पा र उक्त निर्माण सेवाको प्रोप्राइटर भीमराज न्यौपानेविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ मा वडा नं. ५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिका लागि ठेक्का लगाउँदा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरूले ५५ लाख ८९ हजार ६३ हजार रुपियाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2025 November 10, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया