गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा अर्याल र श्रीवास्तवबीच भेटवार्ता भएको हो । उनीहरूका बीच फागुन २१ गतेको प्रतिनिधि सभाको मध्यावधि चुनाव, शान्ति सुरक्षा लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
गृहमन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै सरकारले शान्ति सुरक्षा, सुशासन र भ्रस्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएको बुझिएको छ ।
घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढंगमा सम्पन्न गर्न अहोरात्र लागि परेको गृहमन्त्री अर्यालले राजदूत श्रीवास्तवसँगको भेटका क्रममा बताएका छन् ।
दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्वपूर्ण रहने विचारसमेत गृहमन्त्री अर्यालले व्यक्त गरेका छन् ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
भारत सरकारले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धका बारेमा सधै सकारात्मक र सुमधुर ढंगले अघि बढ्ने बताउँदै, निर्वाचन सफल बनाउन खेल्न पर्ने भूमिका लागि सधै सकारात्मक रहेको विचार राजदूत श्रीवास्तवले व्यक्त गरेको गृहमन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया