कांग्रेसले यो विषयलाई लोकतान्त्रिक मूल्यको संकटका रूपमा लिनुपर्छ : नेता गणेश लामा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले मध्यावधि निर्वाचनको विश्वासनीयता र शान्तिपूर्ण वातावरणलाई भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा फरार कैदी र लुटिएका हतियारले गम्भीर चुनौती दिएको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता लामाले हाल देशभर कानून व्यवस्था अस्तव्यस्त बन्दै गएको बताए । त्यसले निर्वाचनको आधार नै कमजोर बनाइरहेको उनले बताए ।

‘राज्यका संयन्त्रहरूले अपराध नियन्त्रणमा असफल हुँदा जनतामा भय फैलिएको छ, र यही भय लोकतान्त्रिक प्रक्रियाको सबैभन्दा ठूलो शत्रु हो,’ लामाले भने ।

केन्द्रीय सदस्य लामाले भने, ‘फरार अपराधीहरू अझै नियन्त्रणमा नआउनु र सुरक्षाकर्मीबाट लुटिएका हतियार अझै फिर्ता नहुनु राज्यका लागि कलंक हो । जब अपराधी खुला सडकमा हुन्छन्, तब मतदाता स्वतन्त्र हुँदैन ।’

‘निर्वाचन केवल मतपत्र हाल्ने औपचारिकता होइन, जनताको आत्मविश्वास र सुरक्षाको अनुभूति पुनःस्थापना गर्ने अवसर हो,’ लामाले भने, ‘त्यो विश्वास तब मात्रै बलियो हुन्छ जब नागरिकलाई न्याय प्रणालीले सुरक्षा महसुस गराउँछ ।’

केन्द्रीय सदस्य लामाले भने, ‘कांग्रेसले यो विषयलाई केवल प्रशासनिक समस्या होइन, लोकतान्त्रिक मूल्यको संकटका रूपमा लिनुपर्छ । जब डर, धम्की र हतियारको छायाँमा निर्वाचन हुन्छ, त्यहाँ जनमत होइन, भयको जित हुन्छ ।’

उनले भने, ‘तत्काल फरार कैदीहरूलाई नियन्त्रणमा लिनु, लुटिएका हतियार फिर्ता गर्न ठोस कदम चाल्नु र अपराध नियन्त्रणमा स्पष्ट परिणाम देखाउनु अहिलेको मुख्य प्राथमिकता हुनुपर्छ । निर्वाचनको विश्वसनीयता तब मात्रै कायम रहन्छ जब जनताले शान्ति र न्यायको अनुभव गर्छन् ।’

लामाले भने, ‘राजनीति सत्ता सम्हाल्ने कुरा होइन, जिम्मेवारी लिने कुरा हो । देशमा असुरक्षा फैलिँदा नेताहरू मौन बस्नु कायरता हो ।’

Published : Saturday, 2025 November 8, 3:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया