संकटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : कांग्रेसका प्रवक्ता डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै डा.महतले भने, ‘आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ ।’
प्रवक्ता डा.महतले भने, ‘महासमितिको बैठकमा हामी सम्पूर्ण बहस ०८४ को निर्वाचनमा गठबन्धन गर्ने÷नगर्ने भन्ने विषयमा केन्द्रित भयौं । अहिले केन्द्रीय समितिको छलफल विशेष महाधिवेशन की महाधिवेशन भन्नेमै सीमित छ । राष्ट्रिय मुद्दामा छलफल नै भएन, यो दुर्भाग्यपूर्ण हो ।’
उनले संकटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसकेको बताएका छन् ।
उनले भने, ‘नवपुस्ताले गत भदौ २३ गते सुशासन सुनिश्चत गर्ने माग राखेर गरेको आन्दोलनप्रति हामी सहमत छौं । भदौ २४ गते भएको विध्वंशका घटनाहरूलाई उपलब्धि मान्न सकिदैन । सिंहदरबार, सर्वोच्च, संसद, राष्ट्रपति भवनसम्म आक्रमण हुने घटना युवापुस्ताको स्वतःस्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम मात्र थिए ।’
०३६ साल, ०४२ साल, ०४६ र ०६२/६३ का आन्दोलनमा आफू अग्रपंक्तिमा लडेको स्मरण गर्दै डा.महतले भने, ‘म जीवनभर संघर्षमा होमिएँ । आज पार्टी आफैं आत्मघाती बनेको देख्दा पीडा हुन्छ ।’
आफूमाथि पार्टीभित्रैबाट चरित्रहत्या भएको उल्लेख गर्दै डा.महतले भने, ‘प्रतिस्पर्धा विपक्षीसँग हुनुपर्ने हो । हामी आफ्नैभित्र कसलाई कमजोर पार्ने, हटाउने भन्ने खेलमा लागेका छौँ ।’
उनले नुवाकोटको राजनीतिक यात्राका उदाहरण दिँदै आफूलाई सामाजिक सञ्जालहरूमा विभिन्न उपमा दिएर गाली गलौज गर्नु गलत भाष्य भएको बताएका छन् । ‘टिकट जसले पनि पाउँछ, जित्ने भए टिकटकै भरमा सबै जित्थे । चुनौतीपूर्ण क्षेत्रमा मैले मैदान बनाएको हुँ,’ उनले भने ।
वीपी कोइरालालाई उद्धृत गर्दै प्रवक्ता डा.महतले भने, ‘जब सत्यको मुख बन्द हुन्छ, झुटको थुतुनो चल्छ । आज पार्टीमा सत्य बोल्नेको मुख बन्द छ । झूट र आक्रमण आफ्नैविरुद्ध चर्को छ ।’
उनले भने, ‘सुशासनमा ‘जिरो टोलरेन्स अब नारामा होइन, व्यवहारमै लागू गर्नुपर्छ, नेपाल कुनै शक्तिराष्ट्रविरुद्ध प्रयोग हुने भूमि बन्दैन भन्न सकेनौँ, त्यो कमजोरी सच्याउनु पर्छ ।’
प्रवक्ता डा.महतले कांग्रेसले अब तत्काल ३ निर्णय लिनुपर्ने बताएका छन् । सुशासनमा शून्य सहनशीलता लागू गर्ने संकल्प, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनमा राख्ने स्पष्ट कूटनीतिक प्रतिबद्धता, देशव्यापी राष्ट्रिय संवादको नेतृत्व कांग्रेसले सुरु गर्नुपर्ने उनले बताए ।
महाधिवेशन र विशेष अधिवेशनको बहसभन्दा पार्टीको ध्यान अब राष्ट्रिय निर्वाचनमा केन्द्रित हुनुपर्ने उनले बताए । ‘अधिवेशन अहिले की पछि भन्ने बहसभन्दा पहिले देशलाई चुनौतिबाट निकाल्ने नेतृत्व दिनुपर्छ,’ डा.महतले भने, ‘फागुनमा चुनाव भयो भने कांग्रेस एकढिक्का भएर जानुपर्छ, भएन भने महाधिवेशनको वैकल्पिक समय–सीमा तय गरौँ ।’
उनले क्रियाशील सदस्यता समयमै टुंग्याउन, वडा तहसम्म कार्यतालिका बनाउन र निर्वाचनपछि मात्रै पूर्ण महाधिवेशन गर्न सुझाव दिएका छन् ।
‘को सभापति बन्छ, को नेतृत्वमा आउँछ भन्ने बहसभन्दा माथि उठौँ,’ उनले भने, ‘संकटमा पार्टी फुटाउने होइन, जोड्ने हो । विवाद सहज समयमा गर्न सकिन्छ, संकटमा होइन ।’
‘कांग्रेस एक भयो भने देशलाई पनि जोगाउन सक्छ, लोकतन्त्रलाई पनि बलियो बनाउन सक्छ,’ उनले भने । अहिले देश संकटमा भएको बेला वीपी कोइरालाले त्यो बेला भनेको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले फेरि सान्दर्भिक भएको डा.महतले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया