व्यक्तिगत स्वार्थ, गुट र खिचातानीले कांग्रेसले देशलाई नेतृत्व दिने अवसर गुमायो : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी नेतृत्व राष्ट्रिय संकटका बेला आफ्नो जिम्मेवारीबाट चुकेको भन्दै गम्भीर आत्मालोचना गरेका छन् ।

बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता महरले पार्टी व्यक्तिगत स्वार्थ, आन्तरिक गुटबन्दी र खिचातानीमा अल्झिएकाले देशलाई नेतृत्व दिने ऐतिहासिक अवसर गुमाएको बताएका हुन् ।

‘पार्टीले आन्दोलनरत जेनजी युवाहरूसँग आधिकारिक वार्ताको पहल गरेन, संकट समाधानका लागि सर्वदलीय राजनीतिक संवादको नेतृत्व गर्न चुक्यो र आन्दोलन एवं त्यसका मागहरूप्रति आफ्नो स्पष्ट आधिकारिक धारणा सार्वजनिक गर्न सकेन,’ उनले भने, ‘यिनै कमजोरीका कारण पार्टी जनताको नजरमा कमजोर देखिएको छ ।’

यी कमजोरीहरूले गर्दा पार्टी र जनताबीच दूरी बढेको भन्दै महरले अबको दायित्व जनताको भरोसा पुनःस्थापित गर्नु रहेको बताएका छन् ।

‘देश रहे मात्र पार्टी रहन्छ, देश समृद्ध भए मात्र पार्टी बलियो हुन्छ’ भन्ने सूत्रलाई आत्मसात् गर्दै अब गुटगत राजनीतिबाट माथि उठ्नुपर्ने उनको भनाइ छ । उनले यही केन्द्रीय समिति बैठकबाट राष्ट्रिय संकटबारे स्पष्ट मार्गचित्रसहितको कार्ययोजना सार्वजनिक गर्न माग गरेका छन् ।

नेता महरले पार्टीभित्र युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्न हरेक तहमा ३३ प्रतिशतभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने बताएका छन् । उनले पार्टीको विधानलाई नै युवामैत्री बनाउन माग गरेका हुन् ।

उनले पार्टीलाई समयसापेक्ष, गतिशील र ऊर्जावान बनाउन वडा तहदेखि केन्द्रीय समितिसम्मका सबै संरचनामा युवाहरूको अनिवार्य र अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘पार्टीका सबै तहमा कम्तीमा पनि एक तिहाइभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व रहने गरी विधानलाई युवामैत्री बनाउनुपर्छ ।’

Published : Thursday, 2025 November 6, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया