मिशन प्राईमिनिष्टर अर्थात् महामन्त्री थापाको प्रस्ताव छट्टु विद्यार्थीको टालटुले होमवर्क जस्तो : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता लेखनाथ पौडेलले महामन्त्री गगनकुमार थापाद्वारा केन्द्रीय कार्यसमितिमा प्रस्ताव गरिएको महाधिवेशनको कार्यतालिका समय सापेक्ष र दुरगामी असरलाई ध्यानमा नराखेर ल्याइएको भन्दै आलोचना गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता पौडेलले महामन्त्री थापाको महाधिवेशनको मितिको प्रस्ताव अझ भनुँ छट्टु विद्यार्थीको टालटुले होमवर्क भन्दा स्तरीय जस्तो नरहेको टिप्पणी गरे । थापा महामन्त्रीका रुपमा कच्चा सावित भएको उनले बताएका छन् ।

‘मिडियाले बोकेका, बेलुन झैं फुलाएका, युवा महामन्त्री कच्चा सावित देखिनुभयो । जान्नेलाई छान्ने वालाभन्दा खासै चारित्रिक भिन्नता देखिएन,’ कांग्रेस नेता पौडेलले भने ।

‘खै कसलाई हटाउनुपर्छ भनेर मुख फड्कार्ने बाहेक परिपक्वता भन्ने शून्य बराबर । भन्न त म्यानुपुलेटेड ग्रुप, पेज, ई–पेपरह–ले अब तयार, परिपक्व, समाधान दिने भनेता पनि महामन्त्री गगन थापाको मंगलबारको प्रस्तुत अधिवेशनको कार्यतालिका नेपाली कांग्रेसको महामन्त्रीको भन्दा पनि नेविसंघ स्कुल समितिको सहसचिव, अझ भनुँ छट्टु विद्यार्थीको टालटुले होमवर्क भन्दा स्तरीय देखिएन,’ नेता पौडेलले भनेका छन् ।

‘एउटा जिम्मेवार नेता, पार्टीको महामन्त्री, यो देशको संसदमा लामै समय रहेको, संविधानसभा सदस्य र विभिन्न समितिमा बसेको, मन्त्री भई सकेको मिशन प्राईमिनिष्टर, तत्कालै सभापति भनेर दौडेको पदाधिकारीले पेश गरेको अधिवेशन तालिका आफ्नो कन्सर्न बाहेक विधान नै भुलेको हुल्लडबाजी ढंगले प्रस्तुत गर्न हुन्छ ?’ पौडेलले प्रश्न गरेका छन् ।

‘खै पालिका अधिवेशनको मिति प्रस्ताव ? खै प्रदेश अधिवेशन मिति प्रस्ताव ? कि भोटर छानिने जति छानिइहालछन् केन्द्रमा आउने भोटर भेला पार्ने केन्द्रको अधिवेशन तोक्ने उमेदवारी दर्ता गर्ने सभापति भैहाल्ने कि के हो ?’ महामन्त्री थापालाई नेता पौडेलले प्रश्न गरेका छन् ।

Published : Wednesday, 2025 November 5, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया