छिमेकी मुलुकमा भएका घटनाले भदौ २३ र २४ को आन्दोलन हुन्छ भन्ने पूर्वअनुभूति थियो : कांग्रेस नेता बुढा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले जेनजी पुस्ताको जस्तो आन्दोलन नेपालमा हुन्छ भन्ने आफूले कल्पना गरेको भन्दै भदौ २३ र २४ गते ठ्याक्कै त्यस्तै भएको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बुढाले भने, ‘जेनजी आन्दोलन जस्तै हुन्छ भन्ने मलाई लागेको थियो । मैले कल्पना गरेको थिएँ । जेनजी भनेर होइन । यस्तो खालको आन्दोलन नेपालमा हुन्छ भन्ने कुरा लागेको थियो ।’

‘यस्तो आन्दोलन श्रीलंकामा भयो । बंगलादेशमा भयो । छिमेकी राष्ट्रहरूमा भइसकेपछि हामीले गलत काम गर्नु हुँदैन भन्ने नेतृत्वले बुझ्नु पर्ने थियो,’ केन्द्रीय सदस्य बुढाले भने, ‘पल्लो गोठमा गाईबस्तुलाई रोग लाग्यो भने त्यो रोग आफ्नो गोठका गाईबस्तुमा पनि सर्न सक्छ भन्ने कुरा नेतृत्वले बुझ्न सक्नुपर्ने थियो । नेतृको कमजोरीले गर्दा यो घटना भयो ।’

उनले भने, ‘२०७२ सालको संविधानलाई राष्ट्रपति रामचन्द्र पौडेलप्रति मेरो डोल्पा जिल्लाको तर्फबाट हृदयबाट धन्यवाद दिन चाहन्छु ।’

नेता बुढाले भने, ‘फागुन २१ गतेको चुनावमा जाने हो भने महाधिवेशनको बिकल्प छैन । जनताको माझमा जानलाई के लिएर जाने ? एमालेसँग संविधान संशोधन गर्ने भनेर सत्तामा जाने । सरकारमा गएपछि संशोधनको एउटा शब्द पनि नलिने काम भयो । जनताको माझमा फेस गर्न पनि नियमित महाधिवेशनमा जानुपर्छ । जनताको माझमा यो यो विषयमा गल्ती भयो भनेर सच्याउने गरी जानुपर्छ ।’

Published : Tuesday, 2025 November 4, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया