अनुशासनको कारबाही फिर्ता गरौं, आम माफी दिएर बलियो कांग्रेस बनाऔँ : नेतृ डा.संग्रौला
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले अनुशासनको कारबाहीमा परेका नेता, कार्यकर्ताहरूको कारबाहीलाई आम माफी दिन आग्रह गरेकी छिन् ।
शुक्रबार पार्टी कार्यालय, सानेपामा बसेको कन्द्रीय कार्यसमितिको बैठकमा नेतृ डा.संग्रौलाले कांग्रेस र अन्य दलहरूसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबैलाई वर्तमान राजनीतिक परिस्थितिका आधारमा एक पटकका लागि आम माफी दिनु पर्ने बताइन् ।
‘अनुशासन कुनैपनि संस्थाको आधारभूत तत्व हो । तर, कुनै पनि पूर्वाग्रह राखेर अनुशासनको डण्डा चलाइयो भने त्यसले संस्थालाई कमजोर बनाउँछ,’ डा.संग्रौलाले भनेकी छिन् ।
‘२०७९ सालमा नेपाली कांग्रेस र अन्य दलहरूसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबै साथीहरूलाई वर्तमान राजनैतिक परिस्थितिमा एक पटकका लागि आम माफी दिन प्रस्ताव गर्दछु,’ उनले भनिन् ।
‘विभिन्न समयमा कारणबस कांग्रेसको मूलप्रवाहबाट बाहिरिएका सबैै साथीहरूलाई राष्ट्रको साझा भविष्य निर्माण गर्न कांग्रेसको मूलधारमा आउने आह्वान गर्न पनि म प्रस्ताव गर्दछु,’ उनले भनिन्, ‘राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, उदारवाद र समाजवादमा विश्वास गर्न सबै लोकतन्त्रवादीहरू अटाउने बिग टेन्ट पार्टीको रुपमा कांग्रेस पार्टीलाई रुपान्तरण गर्न पनि म प्रस्ताव गर्दछु ।’
डा.संग्रौलाले मंसिरभित्रै नियमित महाधिवेशन गर्नका लागि निर्वाचन कार्य तालिका सार्वजनिक गर्नुपर्ने बताइन् । ‘हामीले आउँदो मंगसिर महिनाभित्रै नियमित १५ औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नु पर्छ,’ उनले भनिन्, ‘महाधिवेशनमा कांग्रेसको नेतृत्वमा अहिलेसम्म मुलुकले प्राप्त गरेको उपलब्धिको समीक्षा गर्नुका साथै हाम्रा कमीकमजोरीबारे व्यापक समीक्षा गरिनुपर्छ ।’
उनले फागुन २१ गते तोकिएको मितिमा मध्यावधि चुनाव हुन नसकेमा मुलुकअर्को संवैधानिक तथा सुरक्षा संकटमा फस्ने निश्चित भएकाले निर्वाचनलाई सुनिश्चित बनाउन आग्रह गरेकी छिन् ।
उनले मुलुकको परराष्ट्र नीति बलियो हुनुपर्ने भन्दै हालसम्म अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री नियुक्ति गर्न नसक्नु दुखद् भएको पनि बताइन् । कांग्रेसले काठमाडौंस्थित सबै कुटनीतिक निकायका प्रतिनिधिहरूलाई निम्तो गरेर पार्टीको परराष्ट्र नीतिको बारेमा स्पष्ट पार्न पनि आग्रह गरेकी छिन् ।
डा.संग्रौलाले भ्रातृ संस्थाहरू निस्क्रिय रहेको भन्दै भ्रातृ संस्थाका बारेमा गम्भीर निर्णय गर्नुपर्ने बताएकी छिन् । ‘हाम्रा सबैजसो भ्रातृ संस्थाहरूमा लामो समयदेखि अधिवेशन हुन सकेको छैन । सबैजसो संस्थाहरूमा गुटबन्दी व्याप्त छ,’ उनले भनिन्, ‘नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरूलाई नवयुवा जोड्ने नर्सरीका रूपमा पुनःपरिकल्पना र पुनःसंरचना गर्न अपरिहार्य छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया