म र मेरा परिवारमाथि सांघातिक हमला, हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनियोजित प्रचार गरियो : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि ज्यानै लिने मनसायले सांघातिक हमला भएको बताएका छन् ।
मंगलबार केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै देउवाले भने, ‘गत भाद्र २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो ।’
‘घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौको अथक प्रयाशपछि हामीलाई उद्दार गरिएको थियो,’ देउवाले भने, ‘म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईहरू जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनियोजित रूपमा झुटा प्रचार गरियो ।’
सभापति देउवाले भने, ‘तपाईहरूको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक संचालन गर्न पाएको छु । मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिंदा यस किसिमका अवस्था जुनसुकै वेला पनि आउँन सक्छ केवल सामना गर्ने साहस राख्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ ।’
‘यो घटनाक्रम झट्ट हेर्दा म र म जस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरूमाथिको व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टीमाथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ,’ सभापति देउवाले भने ।
‘म यो बैठकबाट आक्रमणकारीहरूको कव्जाबाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यबाद ज्ञापन गर्दछु साथै जीवनभर स्मरण गरिरहनेछु,’ सभापति देउवाले भने ।
देउवाले भने, ‘हाम्रो पार्टीको यो बैठक समसामयिक अवस्थाको ठोस विश्लेषण गरी देशलाई उचित निकास दिने गरी आवश्यक निर्णय गर्ने नै छ भन्ने मेरो विश्वास छ । नेपाली कांग्रेसले आफूलाई एकताबद्ध बनाएर देशसामु उपस्थित चुनौतिको सामना गर्नुछ ।’
‘राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भीर संकटमा परेको यस घडीमा पार्टीभित्र एकता कायम राख्नुपरेको छ । यसलाई ध्यानमा राखी हाम्रो पार्टीको बिधानअनुसार तोकिएको समयमा १५औं महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवस्यक निर्णय लिनेछ,’ सभापति देउवाले भने ।
‘देशमा बिद्यमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी निकासमा लागि आवस्यकता अनुसार अन्य राजनैतिक दलहरूसंग पनि वार्ता सम्वाद गर्नुछ,’ सभापति देउवाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया