कांग्रेसले असोज ३ गते संविधान दिवस मनाएर प्रतिक्रिया दिने, सुशीला सरकारको लय गतिलो देखिएन

काठमाडौं । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले असोज ३ गते संविधान दिवस मनाउनको लागि पार्टीपंक्तिलाई निर्देशन दिइसकेको बताएका छन् ।

बुधबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयको अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै खड्काले ७७ वटै जिल्लामा पार्टीले शान्तिपूर्वक संविधान दिवस मनाउने बताए । संविधान दिवस मनाउनका लागि परिपत्र गरिएको उनले बताएका छन् ।

‘हामीले हालै कार्यसम्पादन समितिको बैठक बस्यौँ । संविधान दिवसमा हामी जहाँ जहाँ जुन परिस्थितिमा हुन्छौँ,’ खड्काले भने, ‘त्यही संविधान दिवस मनाउँछौँ । हामीले पार्टीका सबै संस्थाहरूलाई निर्देशन दिइसकेका छौँ ।’

उपसभापति खड्काले संविधानप्रति प्रतिबद्ध रहेर ७७ वटै जिल्लामा संविधान दिवस मनाउने तयारी रहेको बताए । उनले संयततापूर्वक, दृढतापूर्वक र शान्तिपूर्वक संविधान दिवस मनाउने पार्टीले निर्णय गरिसकेको बताएका छन् ।

नेपाली कांग्रेसले संविधान दिवस भव्य रुपमा मनाउने निर्णय गरेर अन्तरिम सरकार र मध्यावधि निर्वाचनको विषयमा आफ्नो असन्तुष्टि देखाउन लागेको छ । कांग्रेसले दशैं, तिहार र छठ पर्व अगाडि ठूलो आन्दोलन वा विरोध गर्ने मुडमा छैन । चाडपर्व सक्किने वित्तिकै र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्ने रवैयाअनुसार अगाडि बढ्ने संकेत कांग्रेसले देखाएको छ ।

सुशीला सरकारले राजनीतिक दलहरूसँग कुनै पनि परामर्श गरेको छैन । अहिले मन्त्री बनाउन मानिसहरू खोजेर हिँडेको छ । ६ महिनाभित्र मध्यावधि निर्वाचन गराउने हो भने सुशीला सरकारले वार्ता टोली गठन गरेर राजनीतिक दलहरूसँग सम्वाद गर्नुपर्छ । अहिलेसम्म त्यो संकेत देखिएको छैन ।

Published : Wednesday, 2025 September 17, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया