नख्खु जेलबाट फरार रविसहितका कैदीहरूलाई सम्पर्कमा आउन सूचना, अन्यथा कडा कारबाही गर्ने चेतावनी
काठमाडौं । कारागार प्रशासन, नख्खु, ललितपुरले भदौ २४ गते नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी)लाई उपस्थित हुन निर्देशन दिएको छ ।
बिहीबार कारागार प्रशासनले सूचना जारी गरेर जेनजी पुस्ताको आन्दोलनका क्रममा मौकाको फाइदा उठाएर कैदी, बन्दी र थुनुवाहरू फरार भएका छन् । फरार हुनेमा सहकारी ठगी र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि छन् । नख्खु कारागारबाट फरार कुख्यात अपराधी सञ्जय टकलालाई प्रहरीले काभ्रेबाट पक्राउ गरेर ल्याएको छ ।
रास्वपाका सभापति लामिछाने नख्खु कारागारबाट फरार भएका छन् । लामिछाने फरार हुँदा जेलमा रहेका सबै कैदी बन्दीहरू पनि फरार भएका थिए । लामिछानेसहितका कैदी, बन्दीहरू नख्खु जेललाई जलाएर भागेपछि देशका धेरै जेलहरूमा बिद्रोह गरेर कैदी, बन्दीहरू फरार भएका छन् । केही कैदी, बन्दीहरू कारागार प्रशासनको सम्पर्कमा पुगेका छन् । लामिछाने फरार छन् ।
रास्वपाका सभापति लामिछानेले गृह मन्त्रालय र कारागार प्रशासनले पत्र दिएर आफूलाई छाडेको दाबी गरिरहेका छन् । लामिछानेले देखाइरहेको पत्र फेक भएको कारागारले जनाइसकेको छ ।
सहकारी ठगी र संगठित अपराधका अभियुक्त लामिछानेलाई प्रहरीले खोजी रहेको छ । लामिछाने लुकेर बसेका छन् । भित्ताहरूका साथै सामाजिक सञ्जालमा लामिछानेको तस्बिर राखेर ‘कैदी भागेको सूचना’, ‘मोस्ट वान्टेड क्रिमिनल’ भनेर तस्बिरसहितका पोस्टरहरू टाँसिएका छन् ।
सूचनामा भनिएको छ, ‘मिति २०८२ भाद्र २४ गते नख्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी)लाई यस कारागार प्रशासनको आधिकारिक सम्पर्कमा अविलम्ब उपस्थित भई प्रचलित कानूनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न यसै सार्वजनिक अपीलमार्फत हार्दिक अनुरोध गर्दछौं ।’
‘फरार अवस्थाको निरन्तरता रहँदा कानूनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानूनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्न सक्ने भएकाले यस सम्बन्धमा सम्पूर्ण फरार कैदीबन्दीहरूलाई सचेत र सजग रहन स्मरण गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
‘अतः विधि, कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दी तुरुन्ते यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पु¥याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई यसै सूचना मार्फत औपचारिक रूपमा अपील गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘सम्पर्क हुन नआएका बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानून बमोजिम भै जाने व्यहोरा अवगत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस कारागार प्रशासनले सम्पर्कमा आउने व्यक्तिहरूको हकहितको रक्षा गर्दी प्रचलित कानूनी प्रावधानअनुसार उहाँहरूको पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया