एमालेद्वारा उपप्रमुख गंगालाई अनुशासनको कारबाहीसहित निलम्बन

तम्घास । नेकपा (एमाले), गुल्मीले मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई निलम्बन गरेको छ ।

एमाले जिल्ला कमिटी गुल्मीको पदाधिकारी बैठकले उपप्रमुख श्रेष्ठलाई १ वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरी निष्कासन गर्ने निर्णय गरेको हो । गुल्मी एमालेका अध्यक्ष बालसिंह काउछाले श्रेष्ठलाई अनुशासनको कारबाही गरिएको बताएका छन् ।

उपप्रमुख श्रेष्ठ गुल्मी एमालेको जिल्ला कमिटी सदस्य पनि हुन् । एमालेले श्रेष्ठलाई असार २९ गते स्पष्टीकरण सोधिएको थियो । श्रेष्ठले ३२ गते लिखित जवाफ दिएकी थिइन् ।

उपप्रमुख श्रेष्ठले आफूलाई कारबाहीको पत्र प्राप्त भइनसकेको बताएकी छिन् । आफ्नो अधिकार खोज्दा कारबाहीमा परेको उनले बताएकी छिन् ।

उपप्रमुख श्रेष्ठले मुसिकोट नगरपालिकामा बजेट निर्माणमा असहमति जनाएकी थिइन् । मुसिकोट नगरपालिकाको नगरप्रमुख पनि एमालेले जितेको छ । नगर प्रमुख र उपप्रमुखबीच विवाद छ ।

Published : Saturday, 2025 August 9, 3:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया