उत्तरकाशीमा नेपाली नागरिक मृत फेला परेका छैनन्, बेपत्ताको खोजी कार्य जारी : राजदूतावास

काठमाडौं । भारतका लागि नेपाली राजदूतावासले भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जनाएको छ ।

शुक्रबार राजदूतावासले प्रेस विज्ञप्ति जारी गरेर बाढीपहिरोमा बेपत्ता भएपनि हालसम्म कुनै पनि नेपालीको शव फेला नपरेको जनाएको छ । राजदूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीको खोजी तथा उद्दारका लागि नेपाली दूतावासले निरन्तर उत्तरखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वयन गरिरहेको जनाएको छ ।

‘बाढी पहिरोपछि त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्दार, घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रुपमा उत्तरखण्ड सरकारका सम्बन्धित निकायहरू तथा सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको छ,’ राजदूतावासले जनाएको छ ।

राजदूतावासले हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुई जनाको शव फेला परेकोजनाएको छ । उत्तराखण्ड प्रदेश पौडी गढवालको बागोडामा अकस्मात आएको बाढीमा पाँच जना नेपाली बेपत्ता भएका छन् ।

घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्किएको र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको राजदूतावासले जनाएको छ ।

Published : Friday, 2025 August 8, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया