मुख्यमन्त्रीको हैसियतले पाउने सुविधा लिन्नँ, विपन्न जनताको पक्षमा निर्णय हुन्छ : ईन्द्रबहादुर बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागि मात्रै मुख्यमन्त्री नभएको बताएका छन् ।

बिहीबार ललितपुरमा नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै बानियाँले पारदर्शी, उत्तरददायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको बताए ।

नेपाली कांग्रेस बागमतीका सभापति समेत रहेका मुख्यमन्त्री बानियाँले भने, ‘पारदर्शी, उत्तरददायी, जिम्मेवारी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्य सहित म मुख्यमन्त्री भएको हो । पदको लागी, फोटो टाँस्न म मुख्यमन्त्री भएको होइन ।’

उनले अरु मुख्यमन्त्रीले के गरे गरेनन् भन्दा पनि आफूले काम गरेर देखाउने बताएका छन् । बानियाँले मुख्यमन्त्रीको हैसियतमा पाउने सुविधा समेत नलिने बताएका छन् । मुख्यमन्त्री बानियाँले भने, ‘अर्को कुरा म आफैँले पाउने सेवा सुविधा, मुख्यमन्त्रीको हैसियतले पाउने सुविधा म लिन्नँ ।’

आफूले मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब विपन्नहरूको पक्षमा हुनेगरी गरेकोे बानियाँले बताएका छन् । गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरूमध्येका छोराछोरीहरूलाई प्रदेश सरकारले २÷२ वटा मेडिकल डाक्टर, आयुर्वेद डाक्टर र पशु चिकित्सक डाक्टर गरी ६ जनाललाई छात्रवृत्तिमा डाक्टर पढाउने उनले बताएका छन् ।

‘मैले पहिलो निर्णय नै बागमती प्रदेशभित्र रहेका गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरूमध्येका छोराछोरीहरूलाई अहिले २ वटा मेडिकल डाक्टर, २ वटा आयुर्वेद डाक्टर, २ वटा पशु चिकित्सक डाक्टर गरी ६ वटा डाक्टर प्रदेश सरकारले पढाउने निर्णय गरेँ र १० वटी गरिबका छोरीहरूलाई नर्स पढाउने निर्णय गरिसकेँ,’ मुख्यमन्त्री बानियाँले भनेका छन् ।

Published : Thursday, 2025 August 7, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया