कम बोल्ने, जनताको धेरै काम गर्ने नेता शेरबहादुर देउवाका कार्यकर्ता हौँ : सभापति खतिवडा

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले धेरै बोल्ने भन्दा पनि काम बोलेर जनताको धेरै काम गर्ने नेताको पहिचान बनाएको बताएका छन् ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले सभापति शेरबहादुर देउवाको बोली धेरै बुझिदैन होला तर, काम बुझिने गरेको बताए ।

खतिवडाले भने, ‘पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति शेरबहादुर देउवा नेपालको राजनीतिमा अलिक कम बोल्नु हुन्छ होला । बोलेको बुझिदैन होला । तर पनि बोलेको बुझिएर केही पनि हुँदैन रहेछ । अहिले हामी गठबन्धनमा छौँ । हाम्रो प्रधानमन्त्री बोली बुझिन्छ, काम बुझिदैन । हाम्रो पूर्वप्रधानमन्त्रीको अलिअलि बोली बुझिदैन, तर काम बुझिन्छ । शालिन व्यक्ति शेरबहादुर देउवाको पार्टीका कार्यकर्ता हौँ ।’

उनले कांग्रेसभित्र गुटको प्रभाव धेरै रहेको भन्दै चिन्ता जनाएका छन् । खतिवडाले भने, ‘पार्टीभित्र गुट हुन सक्छ । कसैले कसैलाई मन पराउन सक्छ । कसैले कसैलाई माया गर्न सक्छ । त्यो आधारमा अलिकता नजिक वा टाढा हुन सक्छ । गुटलाई भन्दा हामीले पार्टीलाई एकजुट बनाएर लिएर जानुपर्ने आवश्यक्ता छ ।’

‘अहिले नेताहरूलाई मात्रै गाली गर्ने होइन । कार्यकर्ताहरू विभाजित छन् । एउटा कार्यकर्ता नेताको छेउमा गएर कान भर्ने, एउटा कार्यकर्ता जनताको बीचमा गएर काम गर्नेछन् । हामीलाई काम गर्ने कार्यकर्ताको आवश्यक्ता छ । पार्टीमा काम गर्ने कार्यकर्ता छभने त्यसलाई मेरो वा तेरो भनेर जानु हुँदैन । जिम्मेवारी दिनुपर्छ,’ खतिवडाले भने ।

‘जबसम्म नेपाली कांग्रेस बलियो हुँदैन । तबसम्म तपाईहरूको हक अधिकार स्थपित हुँदैन,’ कांग्रेस नेता खतिवडाले भनेका छन् ।

Published : Thursday, 2025 August 7, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया