मदिरा तस्करी रोक्ने क्रममा प्रहरीले गोली चलाउँदा यादवको मृत्यु

राजविराज । सप्तरी जिल्लामा तस्करी रोक्ने क्रममा भएको झडपमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

मंगलबार राति राजगढ गाउँपालिका–२ कमलपुरमा तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप भएको प्रहरीले जनाएको छ । मध्यराति तस्करी भइरहेको भनी आएको सूचनाका आधारमा प्रहरी परिचालन भएको थियो । केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । यादवको उपचारका क्रममा मृत्यु भएको चिकित्सकहरूले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले स्थिति नियन्त्रणमा लिन केही राउन्ड गोली चलाएको र तिघ्रामा गोली लागेका यादवको उपचारको क्रममा मृत्यु भएको बताए । झडपमा एकजना प्रहरी पनि घाइते भएका छन् ।

झडपपछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मदिरा नियन्त्रणका लागि प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा १० जना प्रहरी टोली गएको थियो ।

प्रहरीले आत्मरक्षाको लागि चार राउन्ड हवाई फायर गरेको र त्यसै क्रममा एक गोली यादवको बायाँ तिघ्रामा लागेको डीएसपी बस्नेतले बताए ।

प्रहरीले खानतलासी गरी कमलपुरबाट ८० कार्टुन मदिरा बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहले जनाएको छ ।

Published : Wednesday, 2025 August 6, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया