मिडिया काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व सुनिश्चत गर्न माग
काठमाडौं । मिडिया काउन्सिलमा अनलाइन टिभी पत्रकारहरुको प्रतिनिधित्व सूनिश्चित गर्न अनलाइन टिभी पत्रकार संघ, नेपालले माग गरेको छ ।
काउन्सिल सम्वन्धी विधेयकमा छलफल चलाइरहेको संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई सुझावपत्र बुझाउँदै संघले प्रतिनिधित्वको माग गरेको हो । विधेयकको दफा ६ घ मा छापा, अनलाईन, रेडियो र टेलिभिजनका प्रकाशक, सम्पादक, श्रमजीवी पत्रकारहरुको प्रतिनिधित्व हुने व्यवस्था गरिएपनि अनलाइन टिभीलाई भने वेवस्ता गरिएको भन्दै संघले समितिको ध्यानाकर्षण गराएको छ ।
संघका तर्फबाट अध्यक्ष जीवन भण्डारी नेतृत्वको टोलीले सभापति थापालाई सिंहदरवारस्थित कार्यकक्षमै भेटेर पछिल्लो समयमा सबैभन्दा बढी प्रभावकारी भएका र संख्याको हिसावले पनि सबैभन्दा धेरै रहेका अनलाइन टिभीहरुको प्रतिनिधित्व काउन्सिलमा हुनुपर्ने माग राखेको हो ।
अहिलेको प्रेस काउन्सिलमा पनि सबैभन्दा धेरै विवाद र उजुरी अनलाइन टिभीकै बारेमा पर्ने गरेकाले पनि त्यसको सम्वोधन गर्न र न्यूनीकरण गर्न काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व हुनु पर्ने अध्यक्ष भण्डारीको भनाई थियो ।
उनले परम्परागत मिडियाबाट प्रतिनिधित्व गर्नेहरुले नयाँ मिडियाको समस्या सम्वोधन गर्न नसक्ने र प्राविधिक हिसावले पनि काउन्सिलमा अनलाइन टिभीका बारेमा जानेको व्यक्ति अत्यावश्यक भइसकेको बताए ।
सुझावपत्रमा लेखिएको छ, ‘काउन्सिलमा सबैभन्दा धेरै उजुरी पर्ने, सबैभन्दा धेरै विकास हुदै गएको र सबैभन्दा धेरै प्रभावशाली हुदै गएको अनलाइन टिभीको प्रतिनिधित्व अनिवार्य हुुनुपर्दछ । माध्यम अनुसारको समावेशी प्रतिनिधित्वसँगै प्राविधिक, व्यवहारिक र न्यायोचित दृष्टीकोणले पनि काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व आवश्यक छ ।’
प्रेस काउन्सिलकै अघिल्लो वर्षको विवरण अनुसार देशभरी नियमित प्रकाशित सबै प्रकारका पत्रिकाको संख्या ७७९ रहेको, प्रसारण अनुमति लिएका रेडियोको संख्या ११९२ र टिभीको संख्या २४६ रहेकोमा अनलाइनको संख्या ४६२२ र अनलाइन टिभीको संख्या त्यो भन्दा धेरै रहेको अध्यक्ष भण्डारीको दावी छ ।
घट्दै गएका सञ्चार माध्यमको भन्दा बढ्दै गएका सञ्चार माध्यमको प्रतिनिधित्व बढी हुनु पर्ने बताउँदै उनले अनलाइन टिभीको प्रतिनिधित्वको व्यवस्था नभएमा काउन्सिलमा व्यवहारिक समस्या हुने र काउन्सिल नै असान्दर्भिक हुने बताए । उनले अनलाइन टिभी बढी प्राविधिक र नयाँ माध्यम भएकाले त्यसलाई हेर्न छुट्टै पुर्णकालिन निर्देशकको पनि व्यवस्था गर्नुपर्ने बताएका छन् ।
काउन्सिल आफैले र पत्रकार महासंघले हालै अनलाईन टिभीलाई पत्रकारिताको दायरामा ल्याएर व्यवस्थीत गर्दै जिम्मेवार बनाउनु पर्ने निर्णय गरेकाले पनि काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व स्वभाविक भएको अध्यक्ष भण्डारीको भनाई छ ।
संघले काउन्सिललाई स्वायत्त बनाउन काउन्सिलको सिफारिस समिति, वोर्डको गठन तथा कारवाही प्रक्रिया लगायतका विधेयकको २८ ठाउँमा संशोधनका लागि सुझाव दिएको छ ।
संघको सुझावपत्र बुझेपछि समितिका सभापति थापाले संघको सुझावलाई सकारात्मक रुपमा लिएको बताउदै समितिमा छलफल गरेर व्यवहारिक सुझावहरुलाई समेट्ने आश्वासन दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया