युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुन्छ : कांग्रेस नेतृ डा संग्रौला

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा.डिला संग्रौला पन्तले युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुने बताएकी छिन् ।

काठमाडौं प्रज्ञा कुञ्ज स्कुलद्वारा आयोजित नमूना संघीय सभालाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै डा.संग्रौलाले भनिन्, ‘तपाईंहरू परिवर्तनका वाहक हुनुहुन्छ । निराश होइन, आशावादी बनौं । गुनासो मात्रै होइन, समाधान पनि खोज्ने बानी गरौं । समाजप्रति उत्तरदायी, सचेत र संलग्न नागरिक बन्नुहोस् ।’

‘लोकतन्त्रलाई गाली होइन, जिम्मेवारी चाहिन्छ । तपाईंको सोँच, आवाज र निर्णयले देश बदल्न सक्छ,’ उनले भनिन् ।

कांग्रेस सधैं युवाको साथमा रहेको बताउँदै उनले मोडल संसदका अभ्यासहरूबाट उर्जा, प्रतिबद्धता र सिर्जनात्मक विचारहरू आउने बताएकी छिन् । डा.संग्रौलाले भनिन्, ‘गएको दश वर्षको हाम्रो अभ्यासको आधारमा संविधान संशोधनको अवश्यकता देखिएको छ । त्यसको नेतृत्व पनि नेपाली कांग्रेसले लिनु पर्छ र लिन पनि लागेको छ ।’

‘अब लोकतन्त्रको रक्षा, संघीयताको सकारात्मक अभ्यास र न्यायपूर्ण समाज निर्माणमा हामी सबै मिलेर अघि बढ्नु पर्छ’, डा.संग्रौलाले भनिन् ।

आजका विद्यार्थी भोलिका सांसद, मन्त्री, वैज्ञानिक, चिकित्सक र उद्यमी हुने बताउँदै उनले गुणस्तरीय, सुलभ र व्यावसायिक शिक्षा सबैको प्राथमिकता हुनु पर्ने बताइन् ।

‘कांग्रेसले सार्वजनिक शिक्षालाई बलियो बनाउने, निजी शिक्षाको नियमन गर्ने र प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने नीति लिएको छ,’ उनले भनिन्, ‘युवामा स्वरोजगार र स्टार्टअप प्रवर्द्धन गर्न राज्यले विशेष सहयोग गर्नुपर्छ ।’

संसद् नीति निर्माण गर्ने, कार्यपालिका माथि निगरानी गर्ने र जनताको आवाजलाई प्रतिनिधित्व गर्ने मञ्च भएकाले संसद्को मर्यादा कायम राख्न दलहरूनै जिम्मेवार हुनुपर्ने उनले बताएकी छिन् ।

काठमाडौं प्रज्ञा कुञ्ज स्कुलकी प्रिन्सिपल तथा निर्देशक सुनिता पौडेलले विद्यार्थीलाई नेपालको संघीय प्रणाली तथा कानून निर्माणको सैद्धान्तिक एवं प्रयोगात्मक अभ्यासबारे जानकारी दिनुका साथै उनीहरूमा आत्मविश्वास, वक्तृत्व कला तथा सामाजिक अन्तरक्रिया क्षमता विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताइन् । उनले कार्यक्रम सफल पार्न सघाउने सबैलाई धन्यवाद पनि दिइन् ।

Published : Thursday, 2025 July 31, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया