आईजीपी थापाद्वारा बढुवा भएका ८ जनालाई अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले पदोन्नति भएका ८ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् ।
सोमबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा आईजीपी थापाले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन १२ गतेको निर्णयले प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा २ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू सुदनकुमार बिष्ट र उदयजंग बहादुर राणा, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू धर्मानन्द भट्ट, सहकुल के.सी., रितेश सिंह र उपेन्द्रकुमार ओझा तथा प्राविधिक प्रहरी निरीक्षकहरू राजेन्द्र लामा र सुदन श्रेष्ठ रहेका छन् ।
प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । आफ्नो जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको थापाले बताए ।
प्राप्त पद र जिम्मेवारीलाई उच्च नेतृत्व क्षमता, सकारात्मक सोच र उर्जाका साथ संस्थागत विकास, सांगठनिक सुदृढीकरण तथा शुद्धीकरण र संगठनको वृहत्तर हितका लागि सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन गर्न आईजीपी थापाले निर्देशन दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया