दुई जना मारवाडीद्वारा ठूलो राजस्व छली घोटाला, मुद्धा दायर
भैरहवा । राजस्व अनुसन्धान कार्यालय, बुटवलले दुईजना व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरीविरुद्ध राजस्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ ।
राजस्वले ४ करोड ८३ लाख २५ हजार ८८६ रुपियाँ बिगो दाबी गरी अजय र पशुपतिविरुद्ध उच्च अदालत, तुलसीपुरको बुटवल इजलासमा अभियोग दर्ता गराएको हो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अजय अग्रहरी र कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिल जारी नगरी माल वस्तु बिक्री गर्नुका साथै भन्सार चोरी पैठारी गरेका माल वस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छली गरेको अभियोगमा मुद्दा दायर गरिएको राजस्वले जनाएको छ ।
उनीहरूले भन्सार चोरी पैठारीबाट ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि करतर्फ ९९ लाख ८९ हजार ९८४ र आयकरतर्फ २ करोड ८७ लाख ५२ हजार १४७ गरी चार करोड ८३ लाख २५ हजार ८८६ बराबरको राजस्व छली गरेको देखिएको छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम उनीहरूमाथि छली गरिएको रकम बराबर जरिवाना र हदैसम्मको कैद सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया