भूमि विधेयकमा भ्रम छरियो, लालपुर्जा नभएकालाई व्यवस्थित गर्ने हो : कांग्रेस उपसभापति खड्का
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक दल र तिनका नेताहरूले आफ्ना कमी–कमजोरीहरूलाई खुलेर स्वीकार्दै जनतामा निराशाको सट्टा आशा र विश्वास जगाउनुपर्ने बेला आएको बताएका छन् ।
शनिबार मानव अधिकार तथा शान्ति समाजको काठमाडौं शाखाको साधारण सभालाई सम्बोधन गर्दै उनले दलहरूभित्र आत्मसमीक्षाको गहिरो आवश्यकता रहेको बताए ।
खड्काले भने, ‘हामीले गरेका गल्तीहरू छन्, त्यसलाई स्वीकार्नुपर्छ । गल्ती दोहो¥याउनु हुँदैन । अब हामीले एकअर्कालाई दोषारोपण गरेर होइन, जनताको असन्तुष्टिलाई चिनेर समाधान दिने बेला आएको छ ।’
उपसभापति खड्काले जनतामा निराशा नभई राजनीतिक दलहरूप्रति आक्रोश र असन्तुष्टि रहेको बताउँदै त्यसलाई सम्बोधन गर्नु नै अहिलेको मुख्य चुनौती भएको बताए ।
खड्काले प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा नागरिक समाज र कृष्ण पहाडीजस्ता अभियन्ताको भूमिकाको प्रशंसा गरेका छन् । उनले राजनीतिक दलहरूले नागरिक समाजबाट उठेका आवाज र सुझावहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
खड्काले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ अफ पिरियड र भू–स्वामित्व विधेयक जस्ता विषयहरूमा दलहरूबीच गम्भीर छलफल र सहमति आवश्यक रहेको बताएका छन् । उनले भने, ‘भूमि विधेयकबारे केही भ्रम छरिएको छ । यो विधेयकले वर्षौंदेखि बसोबास गरिरहेका, लालपुर्जा नभएका अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ, नयाँ वन फडानी गर्ने होइन ।’
भ्रष्टाचार र कुशासन देशको विकास र उन्नतिका बाधक भएको बताउँदै कांग्रेस उपसभापति खड्काले यसको अन्त्यका लागि सबै दल एकठाउँमा उभिनुपर्ने बताए ।
खड्काले राजनीतिक दलहरू सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने प्रवृत्तिका कारण जनतामा भ्रम पैदा भएको बताएका छन् । ‘यस्तो दोहोरो चरित्रले राजनीतिक प्रणालीलाई नै कमजोर बनाउँछ,’ खड्काले भने, ‘हामीले यो प्रवृत्तिलाई अन्त्य गर्नैपर्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया