कांग्रेसका घिमिरेले सहकारी ठगका अभियुक्त रवि र रास्वपालाई नङ्ग्याए

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग राखेर संसदको गतिविधि बहिष्कार गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शैलीमाथि प्रश्न उठाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपामाथि प्रश्न उठाएका हुन् । भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले झन्डै दुई महिनादेखि संघीय संसदमा चिन्ता व्यक्त गरिरहेको भन्दै उनले यसमा चिन्ता नलिन आग्रह गरेका हुन् ।

प्रमुख सचेतक घिमिरेले भने, ‘धेरै चिन्ता व्यक्त नगर्नुस् । यो धेरै चिन्ता गर्न आवश्यक छैन ।’

घिमिरेले भिजिट भिसाको सन्दर्भमा एउटा अभ्यास गरिसकेको बताए । घिमिरेको यो अभिव्यक्ति रास्वपाका सभापति रवि लामिछानेप्रति थियो । लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेलमा छन् ।

घिमिरेले भने, ‘भिजिट भिसामा यहाँबाट बाहिर जाने त्यहीँको नागरिकता लिने त्यहीँ घरजम गरेर बस्ने केही समय पछि नेपाल फर्किने दुई चार वटा अरू काण्ड पनि मचाउने पार्टी खोल्ने त्यसपछि गृहमन्त्री अन्य विभिन्न मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुन सक्ने अभ्यास हामीले गरिसकेका छौं । किन चिन्ता गर्नुहुन्छ ?’

उनले फेरि यस्तो अभ्यास दोहोरिन सक्ने भन्दै व्यङ्ग्य गरेका छन् । ‘भोलि भिजिट भिसामा जाने साथीहरूले पनि त्यही अभ्यास दोहो¥याउँला नि त । धेरै चिन्तित त्यसमा किन हुनुहुन्छ ?,’ उनले भने ।

भिजिट भिसाको नाममा संसदीय गतिविधि बहिष्कार गर्ने व्यवहार देखेर आफूलाई आश्चर्य लागेको घिमिरेले बताए ।

‘मलाई त यसबाट पनि आश्चर्य लाग्या छ । जुन पार्टीको धेरै सांसदहरू धेरै नेताहरू यही भिजिट भिसाबाट आज यो ठाउँसम्म आइपुग्नुभएको छ र यो सफलताको श्रेणीमा उक्लिनु भएको छ । त्यही साथीहरूको भिजिट भिसाको विषयमा सबभन्दा बढ्ता चिन्तित भएको पाएको छु,’ घिमिरेले भने ।

‘भिजिट भिसामा गएर उतै घरजम गर्नु, उतैको नागरिकता लिनु पासपोर्ट लिनु निश्चय पनि अन्तर्राष्ट्रिय कानूनअनुसार पनि गलत कार्य हो । यो राम्रो कार्य होइन । यसलाई कुनै पनि देशले राम्रो भन्दैन । भिजिट भिसामा जानु भनेको घुम्न जाने हो र फर्केर आउने हो । अन्तर्राष्ट्रिय कानुनले पनि यही नै भन्छ,’ उनले भने ।

नेपालमा भिजिट भिसामा विदेश जानेहरू फर्केर आएपछि पनि देशको नागरिकता लिएर उपप्रधानमन्त्रीसम्म बन्न दिएको घिमिरेले बताएका छन् ।

‘विदेशी नागरिकता विदेशी पासपोर्टमा नेपाल फर्केर आएर यहाँ चाहिँ मन्त्री, उपप्रधानमन्त्री विभिन्न मन्त्रीहरू बनाइसकेका छौं । त्यसले गर्दा यो अभ्यास चलिसकेको देशमा भिजिट भिसाको विषयमा धेरै ठूलो चिन्ता नगर्न साथीहरूलाई म आग्रह गर्दछु,’ घिमिरेले भने, ‘साथीहरूले छातीमा हात राखेर भन्नुस्, ‘आज तपाईंहरूलाई यो ठाउँमा पु¥याउने भिजिट भिसाको धेरै चिन्ता किन गर्नु हुन्छ ?’

Published : Friday, 2025 July 25, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया