सई खतिवडाका कारण निकै चर्चामा मधेश प्रदेश प्रहरी, व्यापक असुली धन्दा

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालयले मातहतका जिल्लाका सिभिल टोलीसँग समन्वय गर्नका लागि प्रहरी नायव निरीक्षक (सई) कुवेर खतिवडाको टोली परिचालन गरेपछि खैलाबैला भएको छ ।

सई खतिवडालाई मधेश प्रदेश प्रहरीका प्रमुखको विश्वासपात्रका रुपमा सबैले चिन्ने गरेको चर्चा छ । खतिवडाले ८ वटा जिल्लाका सिभिल टोली (घुमुवा)हरूको खटनपटन र दररेट असुलीको काम गर्ने जिम्मा पाएको आरोप छ ।

मधेश प्रदेश प्रहरी केही समयदेखि निकै विवाद र चर्चामा छ । केही प्रहरीलाई हेडक्वाटरले कारबाही समेत गरिसकेको छ । केहीलाई जिम्मेवारीबाट हटाएर अर्को प्रहरीलाई पठाएको छ । केही प्रहरीको लेनदेनको अडियो सार्वजनिक भएका छन् । यस्तो बेलामा सई खतिवडाको चर्चा आएको छ ।

हरेक जिल्लामा घुमुवासँग डीआईजीको तर्फबाट खतिवडाले उठाउने जिम्मा पाएको समाचार ‘अनलाइन नेपाल डटकम’ले समाचारमा उल्लेख गरेको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका घुमुवा टोलीसँग सई खतिवडाले डीआईजीको तर्फबाट डिल गर्ने गरेको आरोप छ ।

सर्लाहीमा असई रमप्रवेश यादव, बाराका सिभिल टोली ईञ्चार्ज ईन्स्पेक्टर खेम नेपाल, महोत्तरीमा हवलदार धर्मेन्द्र यादव र राजेश यादव, घनुषामा डीएसपी बरुण सिंहले नै डीआईजीको दूतको काम गर्ने गरेको चर्चा छ । सई खतिवडाले डिल गर्ने जिम्मा पाएका छन् ।

सई खतिवडाको घर सर्लाहीमा पर्छ । पूर्व असई श्याम साह पनि मधेश प्रदेश प्रहरी प्रमुखका विश्वासपात्रका रुपमा चिनिएका छन् । साहले ८ वटा जिल्लाका प्रहरी कार्यालयहरूमा खटाउने घुमुवाको सूची तयार गरी दरभाउ तय गरी सरुवा र पँजनी गर्ने गरेका आरोप छ ।

स्रोतका अनुसार मधेशका जिल्लाका सीमा क्षेत्रबाट ठूलो कारोबार गर्ने व्यापारीहरूलाई समेत साहले भेट गराउने गरेका छन् । मधेशका जिल्लामा घुमुवा को ? राख्ने र कसलाई हटाउने जिम्मा नै पाएकाले साहलाई छायाँ डीआईजीको संज्ञा दिने गरिएको छ ।

जागिरका दौरानमा सधैं तराईका पर्सा र रौतहट जस्ता जिल्लामा एसपीका घुमुवा बसी अकूत कमाएका पूर्व असई साहले ताप्लेजुङ सरुवा भएपछि राजीनामा दिएका थिए । पूर्वअसई साहले विवादास्पद बरिष्ठ सई सागर राणासँग मिलेर तराईमा खटाउने घुमुवाको सूची बनाउने गरेको आरोप छ ।

सागर राणा तिनै हुन्, जसका विरुद्ध वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई सांघातिक आक्रमण गरेकोमा प्रहरीले फौजदारी मुद्दा दर्ताको छ ।

राणाले शक्तिको प्रयोग गरी फौजदारी मुद्दालाई देवानी बनाउन सरकारी वकिलमार्फत् महान्यायाधीवक्ता कार्यालयमा फाइल पठाउन लगाएका छन् । तिनै राणालाई धनुषाका डीएसपी बरुण सिंहको सिफारिसमा असार महिनाको उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत गरिएको छ ।

सई कुवेर खतिवडालाई लहानको डीएसपी हुँदादेखि सिरहाको एसपी र डीआईजी हुँदा पनि घुमुवा राखी जिल्लाका सिभिल टोलीसँग अतिरिक्त लाभ लिने गरेकोबारेमा डीआईजी चतुर्वेदीले भने, ‘मैले घुमुवा राखेको छैन, खतिवडाले त्यस्तो गरेको छैन । मिडियाहरू त्यत्तिकै बदनाम गर्न लागिरहेका छन् ।’

पूर्वअसई श्याम साहले सरुवाको सूची बनाउने र त्यसै अनुसार हुने गरेकोबारेमा उनले भने, ‘साहसँग मैले भेटेको छैन । कसरी उनले भनेको अनुसार सरुवा गर्नु ?’

अहिले मधेशका अधिकांश भारतसँग सीमा जोडिएका जिल्लाहरूमा व्यापक मात्रामा तस्करी बढेको छ । मधेश प्रदेश अहिले तस्करका लागि स्वर्ग जस्तै बनेको एक प्रहरी अधिकारी बताउँछन् ।

तस्करी र घुस असुली बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कतिपय जिल्लामा स्ट्रिङ अपरेसनका लागि गोप्य रुपमा टोली खटाएको स्रोत बताउँछ । यसअघि आर्थिक विवादमा मुछिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाको जिम्मेवारी खोसिएको थियो ।

उनले खटाएका एक वरिष्ठ सईले घुस लिँदै गरेको भिडियो सार्वजनिक भएपछि उनलाई हटाइएको हो । केही दिनअघि मात्रै सर्लाहीमा प्रहरीले तस्करसँग पैसाको मोलमोलाई गरेको अडियो बाहिरिएको थियो ।

इलाका प्रहरी कार्यालय, हीरापुर, सर्लाहीमा कार्यरत सई वैधनाथ दासले तस्करसँग लेनदेनको विषयमा डिल गरेका थिए । त्यसपछि उनलाई निलम्बन गरिएको छ । यसरी प्रहरीका घुस र तस्करीका घटना बाहिर आउन थालेपछि अख्तियारले निगरानी थालेको हो ।

Published : Wednesday, 2025 July 23, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया