आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरूको भूमिका महत्वपूर्ण : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएकी छिन् ।

बुधबार काठमाडौंमा आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन)को १८औँ वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा डा.राणाले नेपाल र अवैतनिक वाणिज्यदूतहरूले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउने बताइन् । उनले सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताइन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने आवश्यकता छ । व्यापार प्रवर्द्धन, वैदेशिक लगानी आर्कषण, बजारसम्मको पहुँचको सुनिश्चितता, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रवर्द्धन तथा परस्पर लाभ र चासोका विषयहरूमा यहाँहरूको योगदान अनिवार्य र महत्वपूर्ण छ ।’

उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका एचसीसीएनका डीन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरू केवल औपचारिक प्रतिनिधि नभई नेपालको आर्थिक कूटनीतिका सक्रिय साझेदार भएको बताए ।

‘हामी सेरेमोनिएलबाट माथि उठेर सक्षम, सक्रिय र समर्पित ढंगले नेपालको कूटनीति र विकासमा योगदान दिइरहेका छौँ,’ ढकालले भने ।

अध्यक्ष ढकालले वर्तमान विश्व पारस्परिक रूपमा जोडिएको परिस्थितिमा आर्थिक कूटनीतिको महत्व झन तीव्र गतिमा बढिरहेको बताए । उनले भने, ‘आजको विश्वव्यापी युगमा आर्थिक कूटनीति विकल्प होइन, आवश्यकता हो ।’

ढकालले राष्ट्रिय हितका पक्षमा एचसीसीएनको प्रतिबद्धता जनाए उनले भने, ‘नेपाल अल्प विकसित राष्ट्र (एलडीसी)को श्रेणीबाट स्तरोन्नति हुने तयारीमा रहेकाले अवैतनिक वाणिज्यदूतहरूले आर्थिक रूपान्तरणमा स्वयम्सेवकको रूपमा काम गर्न सक्ने बताउनुभयो ।’

अध्यक्ष ढकालले एचसीसीएन राष्ट्रिय प्राथमिकताप्रति समर्पित रहेको बताउँदै परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा महासंघ र एचसीसीएनले पहिलोपटक नेपालमा आर्थिक सम्मेलन आयोजना गर्नको लागि तयारी गरिरहेको जानकारी दिएका छन् ।

हालै काठमाडौंको चन्द्रगिरीमा परराष्ट्र मन्त्रालयसँग संयुक्त रूपमा आयोजित कार्यशालाको स्मरण गर्दै ढकालले त्यस अवसरमा अवैतनिक वाणिज्यदूतहरूले वैदेशिक लगानी, नवप्रवर्तन, व्यापार, पर्यटन र गैरआवासीय नेपालीहरुसँगको सहकार्यमा योगदान पुर्‍याउन सक्ने बताएका छन् ।

संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्यले आफ्नो विशेष मन्तव्यमा कूटनीति र अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको युनिक उपस्थिति र बदलिँदो विकासलाई समन्वय गरेर अघि बढ्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका प्रष्ट पारेका छन् ।

अध्यक्ष ढकालले आजैका दिनदेखि एचसीसीएनको डीन पद नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापालाई हस्तान्तरण गरेका छन् ।

समारोहमा उच्च सरकारी अधिकारी, कूटनीतिज्ञ, अवैतनिक वाणिज्यदूतलगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2025 July 23, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया