नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समिति चण्डीगढमा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न
चण्डीगढ । नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको आयोजनामा चण्डीगढको गढवाल भवन, सेक्टर २९ मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता क्षेत्रीय समिति अध्यक्ष राजु चन्द ठकुरीले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव ढाकाराम पौडेलले गरेको थिए ।
नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे कार्यक्रममा प्रमुख अतिथि रहेका थिए ।
केन्द्रीय पदाधिकारी, क्षेत्रीय पदाधिकारी, शाखा तथा महिला समितिका अध्यक्ष, सचिव र प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो ।
अध्यक्ष पाण्डेले दीप प्रज्वलन गरी महामानव वीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरेका छन् । पाण्डेले प्रशिक्षण सत्रमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता, नवीकरण, र नयाँ फारामहरू क्षेत्रीय समितिलाई हस्तान्तरण गर्नुका साथै समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा संगठनात्मक विषयमा प्रशिक्षण दिएका छन् ।
कार्यक्रममा वीपी कोइरालाको स्मृति दिवस, जन्मजयन्ती, तीजको भव्य कार्यक्रम आयोजना, समिति स्थापनाको स्वर्णजयन्ती, र संगठनको एकता, मेलमिलाप तथा पारदर्शिता जस्ता महत्वपूर्ण विषयमा गहन छलफल गरिएको छ ।
अध्यक्ष पाण्डेले पश्चिमोत्तर भारतका २२ शाखाहरूको भ्रमण, जनजागरण तथा संगठन सुदृढीकरणको उद्देश्यसहित केन्द्रीय प्रतिनिधिमण्डल गठन गर्ने घोषणा गरेका छन् । जसमा १ जना केन्द्रीय प्रतिनिधि, २ जना क्षेत्रीय प्रतिनिधि र १ महिला प्रतिनिधि समावेश हुनेछन् ।
कार्यक्रमको समापनमा चण्डीगढ क्षेत्रीय समितिका कार्यकर्ताहरूले संगठनप्रति प्रतिबद्धता व्यक्त गर्दै वीपी कोइरालाको सपनालाई साकार पार्न सामूहिक संकल्प लिएको नेपाली जनसम्पर्क समिति भारतका सहसचिव जीवलाल भट्टराईले बताए ।





फेसबुकबाट तपाईको प्रतिक्रिया