वर्षमानहरू सुन तस्करसँग भात खाएको देखेका छौँ, सहकारी ठगले हस्ताक्षर गर्न लगाए : जीतजंग बस्नेत
जावलाखेल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले माअोवादी केन्द्रका नेताहरूको साँठगाँठ सुन तस्करहरूसँग रहेको भन्दै नेपाली कांग्रेसविरुद्ध गलत भाष्य निर्माण नगर्न सचेत गराएका छन् ।
मंगलबार नेपाली कांग्रेस, ललितपुरले पार्टी कार्यालय नखीपोटमा आयोजना गरेको ४३औँ वीपी स्मृति दिवसको कार्यक्रममा नेता बस्नेतले माओवादीका नेता वर्षमान पुनले कांग्रेसलाई प्रधानमन्त्री केपी ओलीले थर्काएर सरकारमा राखेको भन्ने अभिव्यक्तिको कडा शब्दमा प्रतिवाद गरेका हुन् । उनले वर्षमान पुनसहितका माओवादीका नेताहरू नै सुन तस्करसँग बसेर खाना खाएको तस्बिर सबैले देखेको बताए ।
‘सुन तस्करसँग बसेर खाना खाएको फोटोहरू पनि हामीले देखेका छौँ,’ राष्ट्रिय सभाका सांसद समेत रहेका नेता बस्नेतले भने, ‘केपी ओलीले हामीलाई थर्काएर हामी सरकारमा जाने हो र ? राजासँग नथर्किएको । सेनासँग नथर्किएको । कुनै विदेश तत्वसँग नथर्किएको, घुँडा नटेकेको पार्टी केपी ओलीको थर्काइमा हामी रहन्छौँ ? हामीलाई ब्ल्याकमेलिङ गर्न सक्छन् केपी ओलीले ? यस्तो भाष्य बनाउने ? वाहियात भाष्य बनाउने ?’
‘दिमागमा खुस्कियो की के हो ? यो वर्षमान पुनको दिमाग खुस्कियोको की जस्तो लाग्छ ? हामी त यस्तो भाष्य प्रयोग गर्दैनौँ,’ बस्नेतले भने, ‘माओवादीले गलत गर्छ । सुन नै तस्कर गर्छ ।’
माओवादीले कथित जनयुद्धका क्रममा लुटेको पैसाले काठमाडौंमा घर जग्गामा लगानी गरेपछि जग्गाको भाउ महँगो भएको नेता बस्नेतले बताएका छन् ।
उनले भने, ‘काठमाडौंमा घर हिजोसम्म एक लाख रुपियाँ आना थिएन । आज डेढ करोड रुपियाँको आना रे । कहाँबाट आयो त्यो पैसा ? माओवादीले कथित सशस्त्र द्वन्द्वका बेला लुटेको पैसाले आज काठमाडौंमा जग्गाको मूल्य बढेको होइन ।’
‘हाम्रा शिक्षकहरू मारेको होइन । हाम्रा दाजुभाइ मारेको होइन । हाम्रो घरमा झण्डा गाढेको होइन । हामीले प्रजातन्त्र र लोकतन्त्र बचाउनुपर्छ, राजाले अति नै गर्यो भनेर माओवादीलाई जंगलबाट ल्याएको हो नि,’ नेता बस्नेतले भने ।
‘माओवादीले नेपाली कांग्रेसविरुद्ध गलत भाष्य बनाउँदै आउने । नेपाली कांग्रेस स्ष्पट छ । जसले भ्रष्टाचार गर्छ त्यो भ्रष्टाचारी हो । न्यायालय छ । न्यायालयले छानविन गर्छ । हामी स्वतन्त्र न्यायालयको पक्षमा हो । स्वतन्त्र न्यायालयले निष्पक्ष फैसला गर्छ । यो भ्रष्टाचारी हो की होइन भनेर,’ उनले भने ।
नेता बस्नेतले जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्वतन्त्र न्यायालयलाई प्रभावमा पार्न हस्ताक्षर अभियान गर्न लगाएको बताएका छन् । बस्नेतले भने, ‘एउटा जेलमा बसेको छ । जेलमा बसेर जनतामा सिग्नेचर गराएको छ । अब सिग्नेचर गरेरै छुट्ने हो त्यो भाष्य बनाउने भए अदालत किन चाहियो ? यस्ता गलत भाष्यहरू बनाउँदै छन् देशमा ।’
‘जागरुक कार्यकर्ताले यस्ता भाष्यहरूलाई चिर्न जान्नुपर्छ । प्रतिकार गर्नुपर्छ । नेपाली कांग्रेसलाई एकजुट बनाएर एक्लै जितेर बहुमतको सरकार बनाउनुपर्छ,’ कांग्रेस नेता बस्नेतले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया