ज्ञानेन्द्र शाहले लोकतान्त्रिक मूल्य तोडेकै कारण राजसंस्थाको अन्त्य : कांग्रेस नेता सिटौला

लगनखेल । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने जननेता वीपी कोइरालाको धारणा रहेको बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस, ललितपुर जिल्ला कार्यसमितिद्वारा नखिपोटस्थित पार्टी कार्यालयमा आयोजित स्मृतिमा वीपी विचार गोष्ठी कार्यक्रममा सिटौलाले कुनै पनि विदेशी हस्तक्षेप वीपी कोइरालाका लागि अस्वीकार्य भएको बताए । उनले भने, ‘गरिब जनताको अधिकार, लोकतान्त्रिक प्रणालीको संरक्षण र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उचाइँ बढाउने विषयमा वीपी उदार सोँच राख्ने नेताका रूपमा स्मरणीय छन् ।’

राष्ट्र र राष्ट्रियता जनताको अधिकारमा आधारित हुनुपर्ने विचारका पक्षधर रहेका वीपीले लोकतान्त्रिक शासनप्रति कहिल्यै सम्झौता नगरेको सिटौलाले बताए ।

फाँसीको सजाय सुनाइएकै अवस्थामा राजासँग सहकार्य गरेर राष्ट्रहीतका लागि वीपीले देखाएको साहस उल्लेखनीय रहेको बताउँदै नेता सिटौलाले ज्ञानेन्द्र शाहले लोकतान्त्रिक मूल्य तोडेकै कारण राजसंस्थाको अन्त्य भएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले पञ्चायतकालमा कोइराला परिवारले खेपेको संघर्ष, त्याग र निष्ठालाई स्मरण गर्दै वर्तमान नेतृत्वले व्यवहारिक रूपमा काम गरेको बताए । राणाले विकास र समृद्धिमा जोड दिनुपर्ने बताएका छन् ।

तत्कालीन समयमा गठबन्धन अपरिहार्य भएको भन्दै राणाले निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताए । एमालेको सहकार्यमा बनेको अहिलेको सरकार रहर मात्रै नभएर बाध्यत्मक रहेको नेता राणाले बताएका छन् ।

केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले वर्षमा दुई दिन मात्र होइन, हरेक दिन वीपी कोइरालाको प्रेरणालाई आत्मसात गर्दै कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

माओवादी र रास्वपाले अहिले सामाजिक सञ्जाल मार्फत भ्रम छर्ने काम गरेको बस्नेतले बताए । कांग्रेस नेतृत्वले जनताको मनमा रहेको निराशा र भ्रम चिर्नुपर्नेमा नेता बस्नेतले बताएका छन् ।

राजनीतिक विश्लेषक शंकर तिवारीले कांग्रेसले विधान एउटा काम अर्कै गर्दा पार्टी कमजोर हुँदै गएकाले त्यसलाई सच्याउनुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य उर्मिला केसी, राष्ट्रिय सभा पूर्वसदस्य धना खतिवडा, बागमती प्रदेश उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जन, जिल्ला उपसभापति सुदर्शन घिमिरे, ललितपुर क्षेत्र नं. २ का सभापति महेश खड्का लगायतका नेताहरूले नयाँ सोचसहित जनताको पक्षमा कांग्रेस लागि मात्र वीपी कोइरालालाई सच्चा सम्मान मिल्ने बताए ।

कार्यक्रमको सभापतित्व कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव वशिष्ठकुमार अधिकारीले गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश सह–महामन्त्री ऋषिराम घिमिरे, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेपाली कांग्रेस ललितपुरका संस्थापक नेता सुधालाल मुल्मी, महासमिति सदस्य प्रमोद शर्मा, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख पदाधिकारी तथा सदस्यहरूसहितका नेता कार्यकर्ताहरूको उपस्थिति थियो ।

Published : Tuesday, 2025 July 22, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया