प्रहरीका सई पुर्पक्षका लागि कारागार चलान
धनगढी । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) हरजीत नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
कैलाली जिल्ला अदालतले थुनछेक बहसपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले जिल्ला अदालतको आदेशपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताए ।
बैंकिङ कसूर मुद्दामा दोषी ठहर भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिससिंह पालीको २ असारमा मृत्यु भएको थियो । राति कारागारको शौचालयमा लडेको अवस्थामा अचेत भेटिएका पालीको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।
जेठ २९ गते डडेल्धुराबाट पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो । ३१ गते शनिबार परेका कारण उनलाई असार १ गते मात्र अदालत पेश गरिएको थियो ।
अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो ।
पाली प्रतिवादी रहेको मुद्दामा पुर्पक्षमा पठाइएका नाथ प्रतिवादी रहेका थिए । पालीकी श्रीमती जानकी सावदले नाथकै योजनामा कारागारभित्र आफ्ना श्रीमानलाई कुटेर हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।
सोही किटानी जाहेरीका आधारमा प्रहरीले नाथलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । त्यअघि नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिबाना हुने फैसला गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया