एमालेका नेताहरूद्वारा बलरामलाई बर्खास्थ गर्न माग, सुजनसँग स्पष्टीकरण माग

पोखरा । एमाले कास्कीका नेताहरूले भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीलाई बर्खास्थ गर्न माग गरेका छन् ।

शनिबार पोखरामा सम्पन्न कास्की एमालेका नेताहरूको भेलाले घुस प्रकरणमा मुछिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीमाथि कारवाही हुनुपर्ने माग गरेका हुन् ।

एमाले कास्की ईञ्चार्ज तथा केन्द्रीय सदस्य कृष्ण थापा र एमाले कास्कीका जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले घुस प्रकरणमा जोडिएका राजकुमार गुप्ताले राजीनामा दिएको र बलराम अधिकारीले पनि राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

घुस प्रकरणमा संलग्नमाथि अनुसन्धान गरी कारवाही गर्नुपर्ने एमालेका नेताहरूले बताएका छन् ।

यसैबीच, एमाले गण्डकी प्रदेश कमिटीले मन्त्रीसँग बिचौलियाको काम गर्ने सुजन लामालाई ७२ घण्टे स्पष्टीकरण सोधेको छ । बिहीबार लामालाई स्पष्टीकरण सोधिएको प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले जानकारी दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीसँगको घुस प्रकरणका विषयमा लामासँग लिखित जवाफ माग गरिएको अध्यक्ष शर्माले बताए ।

यसअघि सामान्य सोधपुछ गरिएको र जवाफ चित्त नबुझेपछि लिखित रूपमै स्पष्टीकरण सोधिएको शर्माले बताए । स्पष्टीकरणको समय आइतबार सकिनेछ ।
सुजन लामा २०८० असोजमा भएको एमाले गण्डकी प्रदेशको अधिवेशनमा प्रदेश कमिटी सदस्यको उम्मेदवार बनेका थिए ।

एमाले जिल्ला कमिटी कास्कीले पनि सुजन लामाको सदस्यता नवीकरण नगरी केन्द्रमा पठाएको छ ।

Published : Sunday, 2025 July 20, 7:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया