एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन पराजुलीको अपील

न्युयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूलाई एकताको महाधिवेशनका लागि एकजुट हुन अपील गरेका छन् ।

पराजुलीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका भ्रामक समाचारबाट बच्न र एकताको भावनामा काम गर्न सबैलाई आग्रह गरेका हुन् ।

पराजुलीद्वारा जारी विज्ञप्तिमा नेपालको सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयको सहजीकरणमा गत मे ३–४, २०२५ मा सम्पन्न विश्व महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुँदा आफू अमेरिका क्षेत्रको क्षेत्रीय संयोजकमा निर्वाचित गरेको पनि स्मरण गराएका छन् ।

उनले अमेरिका र क्यानाडामा दुई–दुई वटा एनसीसीहरू कानूनी रूपमा दर्ता भएको र छुट्टाछुट्टै नेतृत्वमार्फत काम गरिरहेको स्पष्ट पार्दै दुई एनसीसीलाई एकताको महाधिवेशनका लागि एकजुट बनाउने निर्णय भएको र सोही निर्णय कार्यान्वयनका लागि आफूले पहल गरिरहेको पनि उल्लेख गरेका छन् ।

दुवै एनसीसीका अध्यक्षद्वय डा.अर्जुन बञ्जाडे र सूर्य लम्सालले हस्ताक्षर गर्दा एनआरएनए आइसीसी अध्यक्ष महेश श्रेष्ठ पनि सहभागी भएका थिए ।

सहमतिअनुसार दुवै एनसीसीले अमेरिकाको पोर्टलमा सदस्यता खुलाउने, नवीकरण गर्ने र सबैलाई समेटेर एकताको महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका छन् ।

पराजुलीले दुवै एनसीसीका अध्यक्षहरूसँग निरन्तर छलफल भइरहेको बताउँदै कानूनी निर्देशन र सहमति पालना गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।

Published : Wednesday, 2025 July 16, 9:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया