अमेरिकी राहदानी बोकेका श्रेष्ठ राप्रपाको केन्द्रीय सदस्य, लिङदेनमाथि उठ्याे गम्भीर प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले वरिष्ठ नेता नवराज सुवेदीलाई इमानको कुरा सम्झाउँदै गर्दा आफ्नो आङको भैंसी नदेखेको पार्टीका एक युवा कार्यकर्ताले कटाक्ष गरेका छन् ।

आफू चाहिँ महाधिवेशनमा केन्द्रीय सदस्यको चुनाव हारेर इमान पचाउँदै प्रवक्ता बन्ने, अनि ईतिहाँस बोकेका नेता सुवेदीलाई एकतर्फी आरोप लगाउने भनेर युवा नेता एन्टीसंघर्ष राईले प्रवक्ता श्रेष्ठलाई सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन् ।

‘मोहन श्रेष्ठ दाजुले राप्रपाका वरिष्ठ नेता नवराज सुवेदीलाई इमानको कुरा सम्झाउनु भएको देखेर हाँस्दा हाँस्दा मेरो साथी कुर्सीबाटै लडे,’ राईले भनेका छन् ।

‘मोहन दाजुले गत महाधिवेशनमा केन्द्रीय सदस्य लड्दा चुनाव हार्नुभएको हो, अनि कुन इमान र नैतिकतामा उभिएर केन्द्रीय सदस्य पद पड्काउँदै प्रवक्ता हुनुभएको हो ? ताजुब लाग्छ, अचम्म लाग्छ, कसरी आफ्नो आङको भैंसी नदेखेको हो दाजुले,’ उनको प्रश्न छ ।

नेपालको संविधान र राप्रपाको विधान विपरीत अध्यक्ष राजेन्द्र लिङदेनले विदेशी नागरिकलाई केन्द्रीय सदस्य मनोनयन गरेकोमा समेत आपत्ति जनाउँदै उनले इमानको प्रश्न उठाएका छन् ।

‘अमेरिकी राहदानी बोकेका प्रेम श्रेष्ठलाई पार्टी अध्यक्षले कुन इमान र नैतिकताको आधारमा केन्द्रीय सदस्य र केन्द्रीय सम्पादन समिति सदस्य मनोनीत गरेको हो । विदेशी नागरिकलाई संविधान र पार्टी विधान मिचेर कसरी नेपाली पार्टीको सदस्य बनाएको ? आमाको दुधको भार तिर्न पर्दैन र भन्या ?,’ राईले सोधेका छन् ।

Published : Sunday, 2025 July 13, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया