एनआरएनए युकेको अध्यक्षमा पुडासैनीको उम्मेदवारी घोषणा

लण्डन । राजेन्द्र पुडासैनीले गैर नेपाली आवासीय संघ (एनआरएनए) युकेको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

पुडासैनीले सन् २०२५–२०२७ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले साथीभाई र अग्रजहरूको सल्लाह बमोजिम आफूले उम्मेदवारी दिने घोषणा गरेको बताएका छन् ।

एकताबद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाजको समानता लडाइँमा ऐेक्यवद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन एवं प्रवर्धन, नेपाली विद्यार्थी र कामदारहरूको अधिकार तथा सुरक्षा जस्ता विषय आफ्नो प्रमुख मुद्दा भएको पुडासैनीले बताए ।

एनआरएनए अभियानमा एकताबद्ध भएर लागे सबै मुद्दा समाधान गर्न सकिने उनले बताए । एनआरएनए युकेलाई नमूना संस्था बनाउने आफूसंग विशेष रोडम्याप भएको पुडासैनीले बताएका छन् ।

अन्याय अत्याचारविरुद्ध लड्ने र अप्ठेरो परेका मानिसलाई सहयोग गर्ने आफ्नो स्वभाव रहेको बताउंदै पुडासैनीले समाजकै लागि काम गर्ने बताएका छन् ।

पुडासैनीले आफू अध्यक्ष पदमा निर्वाचित भएमा एनआरएनए केन्द्र तथा एनसीसीहरूलाई पनि एकताबद्ध बनाउन पहल गर्ने बताएका छन् ।

नुवाकोटको बेलकोटगडी नगरपालिका वडा नं. ८ का स्थायी बासिन्दा पुडासैनी २५ वर्ष अगाडि बेलायत आएका थिए ।

पढाइकै क्रममा बेलायतको प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स उत्तीर्ण गरेपछि विगत १५ वर्षदेखि बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)मा पुडासैनी कार्यरत छन् । उनी विद्यार्थीकालदेखि नै सामाजिक रुपान्तरणमा क्रियाशील छन् ।

पुडासैनी नेपालमा रहँदा सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति समेत भएका थिए । पुडासैनी बेलायतको ट्रेड युनियन आन्दोलनको अग्रणी मोर्चामा रहेर काम गरिरहेका छन् ।

बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियनमध्ये एक जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थको सचिव पदमा रहि उनले श्रमिकहरूको हकहितको पैरबी गर्दैछन् ।

उनले बेलायतस्थित यती नेपाली एसोसिएसन युकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष लगायत विभिन्न संघ÷संस्थाको सल्लाहकार हुँदै एनआरएनए अन्तर्राष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्य समेत थिए ।

एनआरएनए युकेको नयाँ कार्यसमिति चयन गर्न २६ जुलाईमा अनलाइनमार्फत चुनाव हुँदैछ । राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा आयोजना गरिँदै छ ।

Published : Saturday, 2025 July 12, 9:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया