एनआरएनए अष्ट्रेलियामा पुनः सदस्यता खुल्ने, थापा एकता महाधिवेशनको संयोजक नियुक्त

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा पुनः सदस्यता वितरण प्रक्रिया सुरु हुने भएको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषदले गठन गरेको उच्चस्तरीय समितिको सिफारिसमा, सबै पक्षलाई समेटेर समावेशी, निष्पक्ष र सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्नका लागि एकता महाधिवेशनको संयोजन जिम्मेवारी विवेक थापालाई दिइएको हो ।

एनआरएनए महासचिव बी.आर.लामाले जानकारी दिँदै भने, ‘समग्र गैर–आवासीय नेपाली समुदायको साझा आवाज बन्न सक्ने विश्वासका साथ, अष्ट्रेलियामा समावेशी, सर्वपक्षीय र एकताबद्ध संगठन निर्माणको लागि विवेक थापालाई यो जिम्मेवारी दिइएको हो ।’

लामाले अष्ट्रेलियामा सक्रिय संघसंस्था, समुदाय प्रतिनिधि र आम एनआरएनहरूसँग विस्तृत परामर्श गरिने बताएका छन् ।

ओसिनिया क्षेत्रीय संयोजक इर्साद अहमदका अनुसार एमआईएस प्रणालीबाट सदस्यता लिन नपाएका तथा छुटेका हजारौं एनआरएनलाई समेटेर एकता महाधिवेशन गराउने जिम्मा थापालाई दिइएको हो ।

‘हामीले सदस्यता लिन नपाएका झन्डै १५ हजारभन्दा बढी नेपालीहरूका लागि चाँडै सदस्यता प्रक्रिया पुनः सुरु गर्दैछौं,’ संयोजक अहमदले बताएका छन् ।

अहमदले हालको परिस्थितिको समाधान संवाद, समावेशी सहभागिता र पारदर्शितामार्फत खोजिनुपर्ने धारणा राख्दै भने, ‘आईसीसीभित्र विचार फरक भए पनि अष्ट्रेलियामा एनआरएनएको एकता अत्यावश्यक छ । संरक्षक, पूर्व अध्यक्ष, भूतपूर्व र वर्तमान पदाधिकारी तथा सबै समुदाय नेतृत्वकर्ताहरूको सहभागिता आवश्यक छ ।’

पटक–पटक आग्रह गर्दा पनि वर्तमान कार्यसमितिले सदस्यता समावेशी बनाउने विषयमा कुनै चासो नदेखाई एकपक्षीय निर्णय लाद्न खोजेकाले, विकल्प नहुँदा उच्चस्तरीय समितिको सिफारिसअनुसार यो समिति गठन गर्नुपरेको हो ।

एकता संयोजक थापाले भने, ‘हामी सबैको संयुक्त प्रयास, समय र समर्पणले अष्ट्रेलियालाई विश्वका उदाहरणीय राष्ट्रिय समन्वय परिषदमध्ये एक बनाएको छ । यो सफलता र सम्मानको आधार नै हाम्रो आपसी एकता हो ।’

गत मे ३–४, २०२५ मा काठमाडौंमा सम्पन्न एनआरएनएको एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । सोही महाधिवेशनको भावना अनुसार, अष्ट्रेलियामा पनि सबै पक्षको सहमति र सहभागितामार्फत नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्न लागिएको हो ।

Published : Thursday, 2025 July 10, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया