सेनाद्वारा बडी मालिका मन्दिरको पुनर्निर्माणको कार्य सम्पन्न

काठमाडौं । नेपाली सेना बाजुरास्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको बडी मालिका मन्दिरको संरक्षण, संवर्द्धन तथा प्रवर्धन गर्ने उद्देश्य अनुरूप पुनर्निर्माणको कार्य सम्पन्न गरेको छ ।

सुदूर पश्चिम क्षेत्रमा पर्ने मल्लागिरी पर्वत अन्तर्गत समुद्री सतहबाट करिब ४२२० मिटर उचाइँमा अवस्थित नेपालकै आस्थाको केन्द्रको रूपमा रहेको बडी मालिका मन्दिरको २०८१ चैत्र २८ गतेबाट सुरु गरिएको पुनर्निर्माण कार्य २०८२ असार २३ गते सम्पन्न भएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

पुनर्निर्माणको समयमा समेत श्रद्धालु भक्तजनहरूको लागि मन्दिर निरन्तर खुल्ला रहेको थियो ।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौँ संशोधन सहित) को परिधिभित्र रही पुरातत्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग एवम् बाजुरास्थित त्रिवेणी नगरपालिकाको समन्वयमा परम्परागत निर्माण सामग्रीहरूको प्रयोग गरी पुरानो मौलिक स्वरूप अनुसार पुनर्निर्माण कार्य सम्पन्न गरिएको सेनाले जनाएको छ ।

रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, त्रिवेणी नगरपालिका, बडी मालिका नगरपालिका, मन्दिरका पुजारी नेत्रप्रसाद उपाध्याय, भक्तपुर तथा ललितपुरका दक्ष कालिगडहरू र स्थानीयहरूको निरन्तर प्रयासमा विकट भौगोलिक अवस्था, प्रतिकुल मौसम र निर्माण सामग्री व्यवस्थापनका चुनौती माझ करिब २ महिनामा पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

Published : Thursday, 2025 July 10, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया